बाँकेमा चुनावी सुरक्षाका लागि ७५ थान हतियार प्रहरीलाई बुझाइयो, मतदाता शिक्षाको पनि तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
540
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा इजाजत प्राप्त ७५ थान हातहतियार प्रहरी समक्ष बुझाइएको छ। जिल्ला प्रशासन कार्यालयको आग्रहपछि जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारणले आफ्ना भरुवा बन्दुक र बाह्रबोर लगायतका हतियार नजिकैका प्रहरी कार्यालय र चौकीहरूमा बुझाएका हुन्। जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले आजसम्म ती हतियार सङ्कलन भएको जानकारी दिएका छन्। निर्वाचनलाई भयरहित र सुरक्षित बनाउनका लागि प्रशासनले यस्तो कदम चालेको हो।
यसैबीच बाँकेमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन गाउँगाउँसम्म पुग्ने तयारी सुरु गरिएको छ। निर्वाचनका लागि जिल्लाका आठवटै स्थानीय तहमा अधिकृत तहका कर्मचारीलाई सम्पर्क व्यक्तिको रूपमा तोकिएको छ। बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता शिक्षाका लागि प्रत्येक वडामा एक जनाका दरले जम्मा ८१ जना स्वयंसेवक परिचालन गर्न पत्राचार भइसकेको बताए। निर्वाचन आयोगबाट कार्यक्रम प्राप्त भइसकेकाले केही प्राविधिक काम सकिएलगत्तै यो अभियान टोल-टोलसम्म पुग्ने उनले जानकारी दिए।
यस पटकको निर्वाचनमा मतदाता शिक्षाका लागि खटिने सम्पर्क व्यक्तिहरूलाई सुरुमा तालिम दिइनेछ र उनीहरूले पुनः वडा तहका स्वयंसेवकहरूलाई प्रशिक्षित गर्नेछन्। बाँके जिल्लामा तीनवटा निर्वाचन क्षेत्र रहेका छन्, जहाँ कुल मतदाताको सङ्ख्या तीन लाख ५० हजार ३७१ पुगेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार चुनावका लागि एक सय ३९ मतदान केन्द्र र चार सय मतदान स्थलहरू तोकिएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा प्रशासनले सुरक्षा व्यवस्था र मतदाता सचेतना दुवैलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ।