बजेटको आकार घटेको छैन, खर्च गर्ने क्षमता देखाए रकम अभाव हुँदैन: अर्थमन्त्री खनाल [भिडियो]
बजेटको आकार १९ खर्ब ६४ अर्बमै कायम, खर्च गर्ने क्षमता देखाउन अर्थमन्त्रीको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
805
Shares
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेटको आकार यथावत् रहेको स्पष्ट पारेका छन्। सरकारी निकायहरूले खर्च गर्ने क्षमता देखाएमा सो रकम उपलब्ध हुने बताउँदै उनले बजेट परिचालनमा भने चुनौती रहेको स्वीकार गरे।
हाल नेपाल सरकारको सञ्चित कोष १३० अर्ब रुपैयाँ घाटामा रहेको जानकारी दिँदै उनले प्राथमिकताका आधारमा सही ठाउँमा मात्र बजेट परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए। खनालका अनुसार तयारी अवस्थामा नरहेका र प्रतिफल नदिने देखिएका ११९ अर्ब बराबरका आयोजनाहरूलाई प्रारम्भिक मूल्याङ्कन गरी हाललाई स्थगित गरिएको छ। ती आयोजनाहरूको टेन्डर प्रक्रिया अघि बढेपछि अर्थ मन्त्रालयले पुनः फुकुवा गर्ने नीति लिएको छ, जसअन्तर्गत अहिलेसम्म ४२ अर्ब रुपैयाँ फुकुवा भइसकेको छ।
पूँजीगत खर्चको अवस्था निकै कमजोर रहेको स्वीकार गर्दै अर्थमन्त्री खनालले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति समेत सन्तोषजनक नभएको बताए। ६७ अर्ब बजेट विनियोजन गरिएको यस्ता आयोजनाहरूमा हालसम्म १५ प्रतिशत मात्र प्रगति हुनु दुःखद भएको उनको भनाइ छ।
वर्तमान सरकारको सुरुवाती समय राजनीतिक सङ्क्रमणलाई संस्थागत गर्न, निर्वाचनको तयारी र दलहरूबीच समझदारी कायम गर्न खर्च भएकाले पूँजीगत खर्चमा पर्याप्त ध्यान दिन नसकिएको उनले स्पष्ट पारे। उनले आफू र अन्य मन्त्रीहरू राजनीतिक कार्यमा व्यस्त हुनुपरेकाले अन्य मन्त्रालयलाई बोलाएर बजेट खर्च नहुनुको कारण सोध्न नपाएको गुनासो गरे। यद्यपि, वन नियमावलीमा संशोधन गरी प्रसारण लाइन र सडक निर्माणमा देखिएका अवरोध फुकाउने काम भएको उनले जानकारी दिए।
स्वास्थ्य बीमाको दायित्वका सम्बन्धमा बोल्दै अर्थमन्त्री खनालले सरकारले कार्यक्रम सुरु गरेपछि भुक्तानी गर्नुपर्ने दायित्व अर्थ मन्त्रालयको रहेको बताए। तर, वर्षको बीचमा सिलिङ बाहिर गएर बजेट निकाल्ने अधिकार मन्त्रालयलाई नहुने र बजेटभित्रै रहेर रकमान्तर मात्र गर्न सकिने उनले स्पष्ट पारे।
कुनै मन्त्रालयको बजेट अर्थले सिधै तानेर अर्कोमा पठाउन नसक्ने भएकाले सम्बन्धित मन्त्रालयले बजेट 'सरेन्डर' गरेपछि मात्र प्रक्रिया अघि बढ्ने उनको तर्क छ। स्वास्थ्य बीमाका लागि हालसम्म थप १ अर्ब ७२ करोडको व्यवस्था गरिएको र फागुन २१ पछि थप बजेट निकासा हुन सक्ने उनले बताए। निर्वाचनका लागि सुरुमै ठुलो रकम सुरक्षित गर्नुपरेकाले केही शीर्षकमा बजेटको चाप परेको पनि उनले उल्लेख गरे।