arrow

नेकपाको चुनावी घोषणापत्र: रास्वपालाई ‘पपुलिष्ट’ र कांग्रेस-एमालेलाई ‘यथास्थितिवादी’ को बिल्ला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
nepali-communist-party-fasto.jpg

काठमाडौँ । काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन गरेको छ। पार्टीले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरूलाई ‘सिद्धान्तहीन पपुलिष्ट’ र ‘भदौ २४ को विध्वंशकारी तत्व’ सँग सम्बन्धित रहेको गम्भीर आरोप लगाएको छ।

घोषणापत्रमा राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी चार भागमा वर्गीकरण गरिएको छ। नेकपाले आफूलाई क्रान्तिकारी शक्तिको रूपमा प्रस्तुत गर्दै समाज रूपान्तरणको स्पष्ट समाजवादी कार्यदिशा भएको दाबी गरेको छ।

घोषणापत्रमा नेकपा (एमाले) र नेपाली कांग्रेसलाई ‘यथास्थितिवादी’ को संज्ञा दिँदै उनीहरूसँग मुलुक अगाडि बढाउने कुनै नवीन अवधारणा नभएको टिप्पणी गरिएको छ। पार्टीले विशेष गरी नयाँ उदाउँदा पपुलिष्ट शक्तिहरूमाथि प्रहार गर्दै उनीहरू सिद्धान्त र दृष्टिकोणविहीन रहेको आरोप लगाएको छ।

यस्ता शक्तिहरूले मुलुकका समस्या समाधान गर्न नसक्ने र उनीहरू देश तथा जनताको हितमा नरहेको दाबी नेकपाको छ। त्यस्तै, राप्रपालाई ‘प्रतिगामी पुनरुत्थानवादी’ शक्तिको रूपमा चित्रित गर्दै जनक्रान्तिले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्र फर्काउन खोज्ने तत्वहरूले देशलाई पछाडि धकेल्ने चालबाजी गरिरहेको आरोप लगाइएको छ।

विगतका जनसङ्घर्ष र राजनीतिक परिवर्तनको नेतृत्व आफूले नै गरेको दाबी गर्दै नेकपाले लोकतन्त्र, सङ्घीयता र समावेशी प्रतिनिधित्व जस्ता अधिकारहरू आफ्नै कारण प्राप्त भएको उल्लेख गरेको छ।

'हामीले व्यवस्था बदल्यौँ, अब अवस्था पनि हामीले नै बदल्नेछौँ' भन्दै नेकपाले अरू दलले गफ मात्र गर्ने तर आफूले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेको छ। निर्वाचनको मुखमा सार्वजनिक गरिएको यो घोषणापत्रले अन्य राजनीतिक दलहरूका बारेमा कडा र आक्रामक टिप्पणी गर्दै आफ्नो समाजवादी बाटोलाई मात्र सही ठहर्‍याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ