arrow

‘तारा’ चिन्ह लिएर चुनावी मैदानमा नेकपा: १० प्रतिशतको आर्थिक वृद्धि, पाँच लाख रोजगारीको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
nepali-communist-party.jpg

काठमाडौँ । २२ वटा विभिन्न कम्युनिष्ट तथा समाजवादी घटकहरूको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ को निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको सो पार्टीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मूल नाराका साथ आफूले व्यवस्था बदलेको र अब अवस्था पनि आफैँले बदल्ने दाबी गरेको छ। अरूले गफ मात्र गर्ने तर आफूले काम गरेर देखाउने संकल्प गर्दै पार्टीले स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रस्तुत गरेको हो। प्रतिबद्धता पत्रमा विशेष गरी राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, र सामाजिक न्यायसहितको समृद्धिलाई प्राथमिकता दिइएको छ।

पार्टीले विद्यमान खर्चिलो निर्वाचन प्रणालीमा व्यापक सुधारको प्रस्ताव गर्दै ‘जेन–जी’ पुस्ताको मर्म अनुरूप शासकीय स्वरूप परिमार्जन गर्ने योजना अघि सारेको छ। यसअन्तर्गत मन्त्रिपरिषद्को आकार सानो बनाउने, सांसदहरूलाई कानुन निर्माण (विधायक) को भूमिकामा मात्र सीमित राख्ने र सङ्घीयताको मर्म अनुसार अधिकारको बाँडफाँट गर्ने उल्लेख छ।

सुशासनलाई मुख्य आधार मान्दै पार्टीले २०४६ सालयता सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न ‘उच्च स्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने र भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने कडा नीति लिएको छ। सरकारी सेवालाई झन्झटमुक्त बनाउन डिजिटल प्रशासनको अवधारणा पनि अघि सारिएको छ।

आर्थिक क्षेत्रमा आगामी ५ वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने र प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य पार्टीको छ। बहुआयामिक गरिबीलाई ५ प्रतिशतमा झार्ने, १ लाख विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउने र आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गरी प्रमुख खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना यसमा समेटिएको छ।

दुई वर्षभित्र भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरण गरी नेपाललाई सुकुम्वासीमुक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। स्वास्थ्य सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउने र २०८८ सम्म शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने नीति लिइएको छ।

पूर्वाधारतर्फ आगामी ५ वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने र काठमाडौँमा मेट्रो रेल सञ्चालन गर्ने योजनालाई प्राथमिकता दिइएको छ। शिक्षामा ‘एक पालिका, एक स्मार्ट विद्यालय’ को अवधारणा र विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने संकल्प गरिएको छ।

परराष्ट्र नीतिका सम्बन्धमा असंलग्नतालाई सुदृढ गर्दै सीमा विवादलाई कूटनीतिक वार्ताबाट समाधान गर्ने र राष्ट्रिय हितलाई सर्वोपरी राख्ने पार्टीको धारणा छ। समग्रमा, यो प्रतिबद्धता पत्रले नेपालको आर्थिक र सामाजिक अवस्थालाई आमूल परिवर्तन गर्ने समाजवादी मार्गचित्र कोरेको छ।दी बाटोलाई मात्र सही ठहर्‍याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ