arrow

मृतकका आफन्त र प्रहरीबीच झडपपछि हवाई फायर, अश्रु ग्यास प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
ramechaap-prasasan.jpg

काठमाडौँ । रामेछापको मन्थली नगरपालिका–६ मा मंगलबार भएको भीषण बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारले उचित क्षतिपूर्तिको माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। प्रदर्शनका क्रममा आक्रोशित भीडले कार्यालयको मूल गेट तोडफोड गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड अश्रु ग्यास र १ राउन्ड हवाई फायर गरेको छ।

बुधबार साँझ जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका मृतक तथा घाइतेका आफन्तले दबाब बढाउन खोज्दा प्रहरीसँग ठेलमठेल भएपछि सुरक्षा निकायले बल प्रयोग गरेको हो। यस घटनापछि प्रदर्शनकारीहरू थप आक्रोशित बनेका छन् र मन्थलीको वातावरण तनावपूर्ण बनेको छ।

बुधबार अबेरसम्म बसेको सर्वपक्षीय बैठकमा क्षतिपूर्तिको विषयमा कुनै सहमति जुट्न सकेन। छलफलमा बस सञ्चालक कम्पनी पूर्वी अरनिको यातायात प्रालिका प्रतिनिधि नै उपस्थित नभएपछि वार्ता निष्कर्षविहीन बनेको प्रशासनले जनाएको छ।

सहमति नजुटेपछि पीडित पक्षले बुधबार बिहानैदेखि मन्थली–खुर्कोट सडक खण्डको आकाशे र भैंसेश्वर क्षेत्रमा सडक अवरुद्ध गरेका थिए, जसका कारण सवारी आवतजावत पूर्ण रूपमा ठप्प भएको थियो। काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस बेनीघाट पुलनजिक अनियन्त्रित भई तामाकोसी नदीमा खस्दा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो भने चालकसहित ८ जना घाइते भएका थिए। दुर्घटनामा अझै केही मानिस बेपत्ता रहेको आशङ्का गरिएको छ।

मृतकका परिवारले प्रति मृतक २५ लाख रुपैयाँ क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र दीर्घकालीन पालनपोषणको माग राखेका छन्। तर, यातायात कम्पनीले भने बिमा र कम्पनीको तर्फबाट गरी करिब ५ लाख ८० हजार रुपैयाँ मात्र उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ, जसलाई पीडित पक्षले ठाडै अस्वीकार गरिदिएका छन्। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पीडित पक्षले दिएपछि जिल्लाभरको सुरक्षा व्यवस्था कडा पारिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ