बङ्गलादेशमा खालिदाका छोरा प्रधानमन्त्री बन्ने निश्चित, हसिनाले गरिन् चुनाव अस्वीकार
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
2.8k
Shares
काठमाडौँ । करिब दुई दशक लामो पर्खाइपछि बङ्गलादेशको राजनीतिमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले शक्तिशाली पुनरागमन गरेको छ। बिहीबार सम्पन्न आम निर्वाचनमा बीएनपीले स्पष्ट बहुमत हासिल गरेसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं पार्टी अध्यक्ष तारिक रहमान देशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो।
कूल ३०० सिटमध्ये २९९ सिटमा भएको मतदानको प्रारम्भिक नतिजा अनुसार बीएनपीले चुनावी मैदानमा आफ्नो वर्चस्व कायम गरेको छ। हालसम्म २०६ सिटको नतिजा सार्वजनिक हुँदा बीएनपी एक्लैले १६५ सिट जितेर बहुमतको आँकडा पार गरिसकेको छ। १७ वर्षको लामो निर्वासन पछि गत डिसेम्बरमा मात्र स्वदेश फर्किएका तारिक रहमानले आफू उठेका दुवै निर्वाचन क्षेत्रबाट सानदार जित निकाल्दै आफ्नो नेतृत्वलाई प्रमाणित गरेका छन्।
निर्वाचनको अन्य समीकरण हेर्दा बीएनपीले १६५ सिट पाउँदा जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनले ४५ सिट र स्वतन्त्र तथा अन्य उम्मेदवारले ३ सिट जितेका छन्। जुलाई २०२४ को चर्चित विद्यार्थी विद्रोह र तत्कालीन प्रधानमन्त्री शेख हसिनाको बहिर्गमनपछिको यो पहिलो निर्वाचन हो। हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाइएकाले यस पटकको प्रतिस्पर्धामा उनको दल सामेल हुन पाएन। जित सुनिश्चित भएपछि तारिक रहमानले देशको खस्किएको शान्ति सुरक्षा र कानुन व्यवस्था सुधार गर्नु आफ्नो पहिलो प्राथमिकता हुने घोषणा गरेका छन्।
यता, भारतमा निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भने यो निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भन्दै कडा टिप्पणी गरेकी छन्। अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले गैरकानुनी ढङ्गले सत्ता कब्जा गरी गराएको चुनावको कुनै लोकतान्त्रिक वैधानिकता नहुने उनको दाबी छ। यद्यपि, विपक्षीको आरोपका बीच ढाकाका सडकहरूमा बीएनपी समर्थकहरूले भव्य विजय उत्सव मनाइरहेका छन्। बीएनपीले अन्तिम नतिजासम्म दुई तिहाइ बहुमत पुग्ने अपेक्षा राखेको छ, जसले बङ्गलादेशमा एउटा नयाँ राजनीतिक अध्यायको सङ्केत गरेको छ।