रामेछाप । रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट-रामेछाप-साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्री र स्थानीयले हैरानी खेपिरहेका छन् ।
सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारेर छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु किनारबाट काठमाडौँ आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ भने स्थानीयको जमिन चर्किएर घर भत्कन लागेका छन् ।
यस्तै सडकले फालेको ढुङ्गा माटोले कतिको उठीबास लागेको छ । सडकमा उड्ने धुलोले घरमा बसिनसक्नुको अवस्था छ ।
सडकबाट फालेको ढुंगामाटोले धेरै बस्ती जोखिममा परेका स्थानी पूर्णबहादुर महतले जानकारी दिए ।
रामेछापको मन्थली नगरपालिका-६ सेलेघाटदेखि रामेछाप नगरपालिकाको रामेछाप बजार हुँदै ओखलढुङ्गाको सिमाना लिखु किनारको साँघुटारबजासम्म पुग्ने करिब ५२ किलोमिटर लामो सो सडक निर्धारित समयमा नबन्दा यात्रीहरू समेत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हिउँदमा हुने धुलो र वर्षाको हिलोले यातायात साधन जोखिममा पर्ने गर्दछन् ।
भारतीय एक्जिम बैङ्कको सहयोगमा निर्माण भइरहेको सो सडक निर्माणका जिम्मा भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ ।
सो कम्पनीले नेपाली निर्माण व्यवसायीलाई काम जिम्मा दिएको छ ।
सन् २०२० को नोभेम्बर ११ मा शुरू भएको आयोजना २०२३ को मे १० भित्र कूल एक अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सक्नुपर्ने गरी सम्झौता भएको थियो ।
तर निर्धारित समयमा काम नभएपछि सोही कम्पनीलाई फेरी १७ महिनाको म्याद थप गरिएको थियो । तर अझै पनि काम अघि बढेको छैन ।
सडक खनेर अलपत्र छाडिदिँदा घर भत्कन लागेको साँघुटार थाक्लेकी मनमाया श्रेष्ठ बताउँछिन् ।
सडकको कारण आफूहरू असुरक्षित भएको उनले बताइन् ।
कतिखेर पहिरो झरेर घर बगाउने हो ठेगान छैन, हामीलाई यो सडकले समस्या पार्याे - उनले भनिन् ।