सङ्खुवासभाका आठ मतदानस्थल 'अति संवेदनशील': सुरक्षा व्यवस्था कडा पारिँदै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
692
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सङ्खुवासभाका आठवटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाका कुल १०९ मतदानस्थलमध्ये आठवटालाई अति संवेदनशील, ८२ वटालाई संवेदनशील र १९ वटालाई सामान्य सूचीमा वर्गीकरण गरिएको जानकारी दिएकी छन्।
भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचबाट टाढा रहेको अवस्था, यातायात र सञ्चारको असुविधाका साथै विगतका निर्वाचनमा देखिएका घटनाहरूलाई विश्लेषण गरेर यो वर्गीकरण गरिएको हो। जिल्लाका अति संवेदनशील क्षेत्रमा मात्रै ३ हजार ९२६ मतदाता रहेका छन् भने संवेदनशील क्षेत्रमा ८६ हजार १३३ मतदाता छन्।
निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन प्रशासनले मतदानस्थलको वर्गीकरण अनुसार नै सुरक्षा रणनीति तयार पारेको छ। अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा सुरक्षा चुनौतीको गहिराइ हेरेर सोही अनुसार थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ।
प्रजिअ थपलियाका अनुसार निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएर जिल्लास्थित सबै सुरक्षा निकायहरूलाई परिचालन गरिनेछ। एक मात्र निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा यस पटक एक लाख १९ हजार ६३० मतदाता रहेका छन्, जसमा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिला छन्। जिल्लाभर १६४ वटा मतदान केन्द्र तोकिएको छ।
यस पटकको निर्वाचनमा सङ्खुवासभाबाट तीन महिलासहित १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसमा १५ वटा राजनीतिक दलका प्रत्याशी र एक जना स्वतन्त्र उम्मेदवार रहेका छन्। सुरक्षा निकायले विकट क्षेत्रका मतदान केन्द्रहरूमा मतपेटिका ढुवानी र मतदानपछिको सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ। अति संवेदनशील मानिएका क्षेत्रहरूमा विशेष निगरानी र मोबाइल टोलीको व्यवस्था गरेर मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउन प्रशासन लागिपरेको छ।