arrow

बङ्गलादेशमा युनुस युगको अन्त्य, रहमानको शपथ आज

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
bangladesh-votting.jpg

काठमाडौँ । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दै अब आउने सरकारले लोकतन्त्र र मौलिक अधिकारको रक्षा गर्ने विश्वास व्यक्त गरे।

सन् २०२४ अगस्टमा शेख हसिनाको सरकार अपदस्थ भएपछि युनुसले अन्तरिम नेतृत्व सम्हालेका थिए। बिदाइ सम्बोधनका क्रममा उनले भने, "आजदेखि अन्तरिम सरकारको कार्यभार अन्त्य भएको छ। हाम्रो देशका युवाहरूले देशलाई दुष्ट शासकको पकडबाट मुक्त गरे र यो ठूलो मुक्तिको दिन थियो।"

गत साता भएको निर्वाचनमा 'बङ्गलादेश नेसनलिस्ट पार्टी' (बिएनपी) ले ठूलो विजय हासिल गरेको छ। युनुसले बिएनपी नेता तारिक रहमानलाई बधाई दिँदै अबको सरकारको नेतृत्व उनकै काँधमा पुगेको बताए। निर्वाचन आयोगका अनुसार ३०० सदस्यीय संसद्‌मा बिएनपी गठबन्धनले २१२ सिट र जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेका छन्।

मतदानकै दिन बङ्गलादेशी मतदाताहरूले युनुसको सङ्क्रमणकालीन एजेन्डा 'जुलाई चार्टर' का पक्षमा जनमतसङ्ग्रह मार्फत मतदान गरेका थिए। यस चार्टरले प्रधानमन्त्रीको कार्यकालको सीमा, संसद्‌को माथिल्लो सदनको गठन, राष्ट्रपतिको शक्ति वृद्धि र न्यायिक स्वतन्त्रता जस्ता व्यापक सुधारका प्रस्तावहरू अघि सारेको छ। युनुसले भग्नावशेषमा पुगेका संस्थाहरूको पुनर्निर्माण गरी सुधारको बाटो तय गरेको दाबी गरे।

नवनिर्वाचित सांसदहरूले मङ्गलबार शपथ लिने कार्यक्रम छ, जसलगत्तै ६० वर्षीय तारिक रहमान बङ्गलादेशको नयाँ प्रधानमन्त्री बन्नेछन्। १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली मुलुक बङ्गलादेशमा रहमानले अब शक्तिशाली राजनीतिक वंशको विरासत सम्हाल्नेछन्।

चुनावी अभियानका क्रममा केही हिंसात्मक झडप भए पनि मतदानको दिन भने तुलनात्मक रूपमा शान्तिपूर्ण रहेको थियो। जमात-ए-इस्लामीका प्रमुख शफिकुर रहमानले आफ्नो पार्टीले रचनात्मक र शान्तिपूर्ण प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ