arrow

परराष्ट्रमन्त्री शर्मा र बङ्गलादेशका प्रधानमन्त्री रहमानबीच भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
bangladesh-pm-reheman-nepal-sharma.jpg

काठमाडौँ । बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गते हुने नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन्। बङ्गलादेशको भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मङ्गलबार साँझ भएको भेटमा प्रधानमन्त्री रहमानले यस्तो शुभकामना व्यक्त गरेका हुन्। 

ढाकास्थित नेपाली राजदूतावासका अनुसार उक्त भेटमा मन्त्री शर्माले प्रधानमन्त्री सुशीला कार्कीले पठाएको बधाई सन्देश रहमानलाई हस्तान्तरण गरेका थिए। सन्देशमा प्रधानमन्त्री कार्कीले दुवै देश र जनताको साझा हितका लागि साझेदारीको भावनाका साथ काम गर्ने इच्छा व्यक्त गरेकी छन्।

भेटका क्रममा परराष्ट्रमन्त्री शर्माले बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक प्रक्रियालाई अघि बढाएकोमा त्यहाँको सरकारको सराहना गरे। उनले प्रधानमन्त्री रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत हासिल गरेकामा बधाई समेत दिए। 

प्रधानमन्त्री रहमानले आफ्नो शपथग्रहण समारोहमा सहभागी भएकोमा मन्त्री शर्मालाई धन्यवाद दिँदै यसले नेपाल र बङ्गलादेशबीचको अटुट सद्भाव र एकतालाई दर्शाएको बताए। दुवै नेताले नेपाल र बङ्गलादेशबीचको दिगो साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

छलफलका क्रममा प्रधानमन्त्री रहमान र परराष्ट्रमन्त्री शर्माबीच व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा र पर्यटन जस्ता क्षेत्रमा सहकार्य बढाउने विषयमा कुराकानी भएको थियो। त्यसअघि मन्त्री शर्मा बङ्गलादेशको नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथग्रहण समारोहमा सहभागी भएका थिए। 

उनले बङ्गलादेश जमत-ए-इस्लामीका नेता शफिकुर रहमानसँग पनि भेट गरी द्विपक्षीय सहकार्यका विषयमा विचारविमर्श गरेका थिए। प्रधानमन्त्री रहमानको शपथ समारोहमा सहभागी हुन गत सोमबार ढाका प्रस्थान गरेका परराष्ट्रमन्त्री शर्मा बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ