arrow

समावेशिता बिना सामाजिक न्याय असम्भवः कार्यवाहक अध्यक्ष जोशी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
haribhakta-joshi-samabeshi-aayog.jpg

काठमाडौँ । राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सामाजिक न्यायको सिद्धान्तका आधारमा सबै वर्ग र समुदायलाई राज्य संरचनामा सहभागि गराउन अझै मेहनत गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय समावेशी आयोग दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सामाजिक न्याय र समावेशीतालाई अधिकार सुनिश्चितताको आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष जोशीले सामाजिक न्यायका सवालमा अझै पनि असमानता, विभेद र असमावेशीताका समस्या विद्यमान रहेको उल्लेख गरे।

उनले पछाडि परेको क्षेत्र, वर्ग र लिङ्गका व्यक्तिहरूको हक, हित र अधिकार सुनिश्चित गर्नका लागि विभिन्न संवैधानिक आयोगहरू गठन गरिएको भए पनि आयोगहरूले प्रभावकारी भूमिका खेल्न नसकेको स्वीकार गरे।

उनले भने, ‘सामाजिक न्याय दिवस कस्तो भयो भन्दाखेरी यहाँ असमानताका कुराहरू पनि भए, विभेदका कुराहरू पनि भए, असमावेशिताका कुराहरू पनि भए। अहिले जति पनि आयोगहरू छन् ती सबै सम्बन्धित गर्वको आवाज र अधिकारको सुनिश्चितता गर्नको निम्ती गठन भएका हुन् नि । पछाडि परेको क्षेत्र, वर्ग, लिङ्गका व्यक्तिको हक, हित र अधिकारका लागि स्थापना भएका आयोगहरू हुन् । समावेशी नभइकन अधिकार प्रप्ति हुँदैन भनेर सामाजिक न्यायका सिद्धान्तमा बनेका आयोगहरूलाईं यो दिवस मनाउन उपयुक्त हुन्छ भनेर हामीले निर्णय गर्यौँ। अहिले अन्तर्राष्ट्रियस्तरमै इम्पावरिङ इन्क्लुजनका विषयहरू उठिरहेका छन् । सामाजिक न्यायमा सबै पक्षको पहुँच हुन आवश्यक छ। अहिले पनि मुलुकलाई समावेशी बनाउनको लागि निकै मेहनत गर्नुपर्ने अवस्था छ ।’

उनले अन्तर्राष्ट्रिय स्तरमै ‘इम्पावरिङ इन्क्लुजन’का विषयमा बहस भइरहेको उल्लेख गर्दै सामाजिक न्यायमा सबै पक्षको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ