व्यक्तिगत आवश्यकता पूरा गर्न राष्ट्रिय वाणिज्य बैंकका विभिन्न आकर्षक कर्जा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ११ सोमबार
758
Shares
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले विविध व्यक्तिगत आवश्यकता पूरा गर्न विभिन्न प्रकारका आकर्षक कर्जाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।
बैंकका उपभोक्ता कर्जा विभाग प्रमुख भोलानाथ पौडेलले कुनै पनि प्रकारका व्यक्तिगत आवश्यकता पूर्ति गर्नका लागि विभिन्न शीर्षकमा ऋण उपलब्ध गराउँदै आएको जानकारी दिए ।
उनले कर्जाको प्रकृति हेरेर विभिन्न कर्जाको ऋण रकम, त्यसको अवधि र ब्याजदर भने फरक फरक रहेको जानकारी दिए । पौडेलका अनुसार बैंकले हाललाई विभिन्न दश शीर्षकमा व्यक्तिगत कर्जा उपलब्ध गराउँदै आएको छ ।
१. घर कर्जा–
यस शीर्षक अन्तरगत घर निर्माण, घर खरिद, मर्मत सम्हार, पुनःनिर्माणसँगै फर्निशिङ गर्नका लागि ऋण दिने गरिन्छ । त्यसैगरी घडेरी खरिद गर्नसमेत ऋण उपलब्ध गराइन्छ ।
ऋणीको कर्जा तिर्न सक्ने क्षमता हेरेर कर्जा सीमा तय गरिन्छ । बढीमा पाँच करोड रुपैयाँसम्म कर्जा दिइने उक्त कर्जाको अवधि २० वर्षसम्म हुन्छ । यस्तो कर्जा हाल बैकले ५.९९ प्रतिशतदेखि वार्षिक ब्याजदरमा उपलब्ध गराउँदै आएको छ । कर्जाको 00लागि त्यही घरजग्गा बैंकमा धितो राख्नुपर्ने हुन्छ ।
२. सवारी साधन कर्जा–
व्यक्तिगत तथा स्वरोजगार हुने प्रयोजनका लागि खरिद गरिने सवारी साधनका लागि यो ऋण दिने गरिन्छ । यो कर्जाको अधिकतम सीमा एक करोड रुपैयाँसम्मको रहेको छ । यो बढीमा सात वर्षका लागि दिइन्छ ।
यसको व्याजदर हाल ५.९९ प्रतिशत रहेको छ । यसका लागि सवारी साधन नै धितोको रूपमा राख्नुपर्ने हुन्छ । ऋण चुक्ता भएपछिमात्र सवारी साधन ऋणीको नाममा नामसारी हुन्छ ।
३. शेयर कर्जा–
नेप्से परिसूचकमा सूचीकृत भएका शेयरहरु मध्ये बैंकले तोकेको धितो राखेर यस्तो कर्जा दिने गरिन्छ । हाल यस्तो कर्जाको सीमा खुला गरिएको छ । तर नेपाल राष्ट्र बैंकले बेलाबेलामा यस्तो कर्जाको प्रतिव्यक्ति सीमा तोक्ने गर्दछ ।
यसको ब्याजदर ६.४२ प्रतिशत रहेको छ । यस्तो कर्जा सुविधा सामान्यतया एक वर्षको मात्र हुने गर्दछ ।
४. शैक्षिक कर्जा–
स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्नका लागि यो कर्जा दिने गरिन्छ । यो अधिकतम एक करोड रुपैयाँको हुने गर्दछ । बढीमा १० वर्षका लागि दिइने उक्त कर्जाको व्याजदर ६.४२ प्रतिशत रहेकाेछ ।
यस्तो कर्जाको लागि धितोको रूपमा घरजग्गा अनिवार्य हुन्छ । साथै कर्जा तिर्नसक्ने अभिभावकको आयस्रोत पनि आवश्यक हुने गर्दछ ।
अभिभावक नभएको हकमा विद्यार्थी आफैँले पनि ब्याज तिर्ने आम्दानीको स्रोत देखाउन सक्छन् ।
५. पेशाकर्मी सरल कर्जा–
विभिन्न पेशामा आबद्ध स्थायी आयस्रोत भएका व्यक्तिका लागि यो कर्जा दिने गरिन्छ । यो कर्जा बापत १५ लाख रुपैयाँसम्म ऋण दिने गरिन्छ ।
संचयकोष पाउने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने गरि तलब पाउने व्यक्तिले यस्ताे ऋण पाउन सक्छन् । बैंक र कर्मचारी कनर्यरत सम्बन्धित कार्यालयबीच हुने समझदारी बमोजिम यो ऋण पाइन्छ ।
बढीमा १० वर्षका लागि दिइने यो ऋणको ब्याजदर ६.४२ प्रतिशत हुने गर्दछ ।
६, पेन्सन कर्जा–
पेन्सन प्राप्त गर्ने अवकासप्राप्त सरकारी कर्मचारी अन्य कर्मचारीले मात्र यो कर्जा पाउँछन् ।
अधिकतम १० लाख रुपैयाँ पाइने उक्त कर्जाको अधिकतम समय १० वर्षको हुन्छ भने ब्याजदर ६.४२ प्रतिशत रहेको छ ।
७, शिक्षक कर्जा–
यो शीर्षक अन्तर्गत नेपाल सरकारबाट अनुदान प्राप्त विद्यालय र विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षकले मात्र याे कर्जा पाउँछन् ।
कर्जाका भुक्तानी अवधि १० वर्ष भएको यो कर्जा बढीमा २० लाख रुपैयाँ लिन पाइन्छ भने ६.४२ प्रतिशत ब्याजदर रहेको छ ।
८, धितो कर्जा–
व्यापारिक प्रयोजनले कसैले घर बनाउन चाहन्छ वा घर खरिद गर्न चाहन्छ भने त्यस्तो व्यक्तिलाई यो कर्जा दिने गरिन्छ ।
यो यस्तो कर्जा हो जुन भविष्यमा हुने आम्दानी आम्दानीलाई आधार मानेर अहिले ऋण लिएर उक्त कार्य गरिन्छ । जस्तो कि कसैले कुनै घर बनाएर भाडा लगाएर ऋण तिर्न सक्छ वा कुनै जग्गामा संरचना निर्माण गरेर भाडामा दिएर आम्दानी गर्न सक्छ ।
यसका लागि त्यो जग्गा वा घर नै धितो राखिन्छ । त्यसबापत बढीमा ७ करोड रुपैयाँसम्म कर्जा लिन पाइन्छ ।
१५ वर्ष सम्मको अवधि हुने उक्त कर्जामा ७.४२ प्रतिशत ब्याजदर तोकिएको छ ।
९, राष्ट्र सेवक कर्जा–
सरकारको राष्ट्रसेवक कर्मचारीका लागि यो कर्जा अधिकतम २० लाख रुपैयाँसम्ममात्र पाइन्छ । बढीमा १० वर्षको अवधि राखिएको यो कर्जाबापत ६.४२ प्रतिशत ब्याजदर लाग्दछ । यो कर्जामा कुन प्रयोजन भनेर तोक्नु पर्दैन ।
१०, व्यक्तिगत कर्जा–
माथिका कुनै पनि प्रयोजनमा नपर्ने कर्जा यस अन्तरगत पर्दछ । व्यक्तिगत सम्पत्ति छ र आयस्रोत पनि छ भने यो कर्जा पाइन्छ ।
घरजग्गा धितो राखेर पाइने यो कर्जा हाल बढीमा एक करोड रुपैयाँसम्म पाइन्छ । यसको अवधि मात्र एक वर्षको हुन्छ भने ७.४२ प्रतिशत ब्याज लाग्दछ ।
यसलाई प्रत्येक वर्ष नवीकरण गरेर समय थप गर्न भने सकिन्छ ।