कानून निर्माणलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
671
Shares
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाउन नहुने बताएका छन् । कुष्ठरोगको क्षेत्रमा गरिएको एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा प्रष्टयाएका हुन् ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानून निर्माणमा सम्बन्धित पक्षको सहभागिता नहुँदा त्यो कानून कार्यान्वयनका लागि योग्य हुने अवस्था नरहेकोतर्फ पनि सचेत गराए ।
उनले अन्धविश्वासको भरमा कानून निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि समस्या देखिएको तथ्य औँल्याए। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सम्बन्धित पक्षसँग अन्तरंग कुराकानी गरेर मात्रै कानून निर्माण गर्नुपर्नेमा जोडसमेत दिए।
उनले भने, ‘कानून निर्माणको विषयलाई अडकलको विषय बनाइनु हुन्न । किनभने कानून निर्माणमा सहभागिता राख्ने अवसर नै थिएन । कुष्टरोगलाई महारोग भनिन्थ्यो । त्यसलाई छुनै नहुने रोगको रुपमा हेरियो । कुष्ठरोगको विषयमा किञ्चित विचार नै नगरीकन यसका विभिन्न चरण छन् । यो निको हुन सक्छ । यसको इजलाज हुन सक्छ । यसका कार्यक्रम हुन सक्छन । यसको सामान्यीकरण गर्न सकिन्छ । जीवनमा यसलाई पुनर्वास गर्न सकिन्छ । यी सबै सम्भावनालाई बन्द गरेर अन्ध विश्वासको भरमा जव हामी कानून निर्माण गर्दछौँ । तब कानून यस्तै हुने गर्दछ । हामीले समाजमा यस्ता समस्याबारे राम्रोसँग सम्वाद नै गर्न नसकेको, यसका अन्तरंग प्रश्नहरु गर्नै नसकेको र कुष्टरोग प्रभावित पनि उत्तिकै सम्मानित हुन् । उनीहरूले पनि उत्तिकै सम्मानका साथ जीवन जीउन सक्दछन । समाज र राष्ट्रका लागि उनीहरूले योगदान दिन सक्दछन् भन्ने कुरालाई राम्रोसँग मान्यता नदिई कानून निर्माण गरिएको हुनाले यसको कार्यान्वयन नसकेको हो ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कुष्ठ निवारण हुने र उनीहरुले पनि समाज र राष्ट्रका योगदान गर्न सक्छन भन्ने कुरालाई भुल्न नहुने पनि बताए ।