इजरायलली आक्रमणले इरानमा ठूलो क्षति, दुई सय भन्दा बढीको मृत्यु, खामेनी मारिएको ट्रम्पको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
2.4k
Shares
तेल अभिभ । अमेरिका र इजरायलको संयुक्त आक्रमणले इरानमा ठूलो क्षति भएको छ । अहिलेसम्म दुई सय भन्दा बढीको मृत्यु भएको जनाइएको छ । इरानको रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायली आक्रमणमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र ७४० भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ।
इरानी विद्यालयमा भएको क्षेप्यास्त्र प्रहारमा ८५ छात्राको मृत्यु र ४५ जना घाइते भएका छन्। स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले इजरायली आक्रमणमा इरानी रक्षामन्त्री अमिर नासिरजादेह र रिभोलुसनरी गार्ड्स (IRGC) का कमाण्डर मोहम्मद पाकपुरको मृत्यु भएको दाबी गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा एक पोस्टमा लेखेर खामेनी मारिएको दाबी गरेका हुन् । उनले लेखेका छन्, 'इतिहासको सबैभन्दा निर्दयी व्यक्तित्व मध्ये एक खामेनी मारिएका छन्। यो इरानका जनताका लागि मात्र होइन, विश्वभरका अन्य देशका जनताका लागि पनि न्याय हो जसलाई खामेनी र उनको रक्तपिपाही गिरोहले मारेका थिए ।'
शनिबार इजरायलले इरानको राजधानी तेहरानसहित धेरै सहरहरूमा आक्रमण गरेको हो । इजरायलले इरानमाथिको आक्रमणलाई "सिंहको गर्जन" को नाम दिएको छ भने अमेरिकाले यसलाई अपरेशन एपिक फ्युरीको नाम दिएको छ । इरानी सेनाले प्रतिशोधात्मक आक्रमणलाई "खामत-ए-तुफान" नाम दिएको छ।
रोयटर्सले इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै इरानका सर्वोच्च नेताको मृत्यु भएको दाबी गरेको छ। विज्ञप्ति अनुसार, हवाई हमलाले छोडेको भग्नावशेषमुनि खामेनीको शव फेला परेको थियो।
यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि खामेनीको मृत्युको संकेत रहेको बताएका थिए, यद्यपि उनले कुनै प्रमाण प्रदान गरेनन् ।
अर्कोतर्फ, इरानका विदेशमन्त्री अब्बास अराघचीले सर्वोच्च नेता जीवित र सुरक्षित स्थानमा रहेको बताएका छन् ।
८६ वर्षीय खामेनी इरानका सेनापति हुन्। सबै राजनीतिक र धार्मिक मामिलामा खमेनीको अन्तिम निर्णय हुन्छ। इस्लामिक गणतन्त्रको सुरक्षा गर्ने इरानको अर्धसैनिक क्रान्तिकारी गार्डले उनलाई सिधै जवाफ दिन्छ।
१९८९ मा, इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको मृत्युपछि खामेनी इरानको सर्वोच्च नेता बने। शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गर्ने १९७९ को क्रान्तिमा खामेनीले प्रमुख भूमिका खेलेका थिए।
शनिबारको आक्रमणमध्ये एक खामेनीको कार्यालय नजिकै भएको थियो। यद्यपि त्यतिबेला खामेनी कहाँ थिए भन्ने कुरा तुरुन्तै स्पष्ट भएन, तर उनी धेरै दिनदेखि देखिएका छैनन्।
इजरायलले संयुक्त राज्य अमेरिकासँगको सहकार्यमा १० इरानी सहरहरूमा हवाई आक्रमण गरेको थियो। आक्रमणपछि ट्रम्पले एक भिडियो जारी गर्दै इरानमाथिको आक्रमण अमेरिकी नागरिकहरूको सुरक्षाका लागि भएको बताएका थिए।
इरानले इजरायलमा लगभग ४०० क्षेप्यास्त्र प्रहार गरेको छ । कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र यूएईमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गरेको थियो । यसबाहेक, इरानले यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईमा पनि आक्रमण गरेको छ ।