अबुधाबीमा अलपत्र पर्यटकलाई राहत: थपिएको बसाइ अवधिको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
2.2k
Shares
काठमाडौँ । अनपेक्षित यात्रा प्रतिबन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूका लागि त्यहाँको संस्कृति तथा पर्यटन विभागले विशेष राहतको घोषणा गरेको छ। विभागले काबु बाहिरको परिस्थितिका कारण स्वदेश फर्कन नसकेका पाहुनाहरूको होटल बसाइको सम्पूर्ण खर्च आफैँले व्यहोर्ने निर्णय गरेको हो।
विभागले पाँच दिनअघि नै एक परिपत्र जारी गर्दै अबुधाबी क्षेत्रका सबै होटलहरूलाई निर्देशन दिएको छ। परिपत्रमा भिसा वा होटलको चेक–आउट मिति सकिएका तर यात्रा प्रतिबन्धका कारण फर्कन नसकेका पाहुनाहरूको बसाइ अवधि लम्ब्याउन भनिएको छ। होटलका महाप्रबन्धकहरूलाई पठाइएको पत्रमा स्पष्ट पारिएअनुसार, पाहुनाहरू प्रस्थान गर्न सक्षम नभएसम्म उनीहरूलाई होटलमै बस्ने व्यवस्था मिलाउनुपर्नेछ।
यसरी थपिएको बसाइ अवधिको खर्चका लागि होटलहरूले बिल तथा इनभ्वाइसहरू विभागले तोकेको इमेल ठेगानामा पठाउनु पर्नेछ। यस प्रक्रियामा थप जानकारी आवश्यक परेमा वा कुनै समस्या आएमा विभागले आफ्नो ‘बिजनेस कन्टिन्युटी टिम’ को सम्पर्क नम्बर ०२६५७६२८३ समेत सार्वजनिक गरेको छ।
अबुधाबी सरकारको यो मानवीय निर्णयले आर्थिक र मानसिक तनावमा परेका हजारौँ पर्यटकहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। विशेषगरी मध्यपूर्वमा जारी सैन्य तनावका कारण उडानहरू रद्द हुँदा धेरै विदेशी नागरिकहरू त्यहाँ अलपत्र परेका छन्।।