arrow

मध्यपूर्वको युद्धले एसियामा इन्धन सङ्कट: बङ्गलादेशमा सेना परिचालन, म्यान्मारमा सवारी चलाउन आलोपालो प्रणाली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
russian-oil.jpg

काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धनको गम्भीर अभाव र जनआक्रोश देखिन थालेको छ। विशेषगरी बङ्गलादेशमा स्थिति निकै तनावपूर्ण बनेपछि सरकारले प्रमुख तेल डिपोहरूको सुरक्षाका लागि सैनिक नै तैनाथ गर्नुपरेको छ।

आफ्नो ऊर्जा आवश्यकताको झन्डै ९५ प्रतिशत आयातमा निर्भर रहेको यस मुलुकमा इन्धन अभावको त्रासले राजधानी ढाकासहित देशभरका पेट्रोल पम्पहरूमा सवारी साधनको लामो लाम लागेको छ। आपूर्ति सहज नहुँदा आक्रोसित चालकहरूले पम्पमा तोडफोड समेत गरेका छन् भने दक्षिणी जिल्ला झेनैदाहमा इन्धन भर्ने विषयमा भएको झडपमा एक युवकको मृत्यु समेत भएको छ।

२५ वर्षीय युवकको मृत्युपछि उत्तेजित भीडले बसहरूमा आगजनी गरेपछि सुरक्षा व्यवस्था कडा बनाउन पेट्रोल पम्प वरपर प्रहरी गस्ती बढाइएको छ।

बङ्गलादेश सरकारले स्थिति नियन्त्रणमा राख्न इन्धन रासनिङ सुरु गर्दै ऊर्जा बचतका लागि विद्यालयहरू बन्द गर्ने र सार्वजनिक उत्सवका प्रकाश प्रदर्शनहरू रद्द गर्ने निर्णय गरेको छ। ढाकाका पुराना पेट्रोल पम्पहरूले मौज्दात सकिएको सूचना टाँसेका छन् भने सडकमा किलोमिटरभन्दा लामा सवारी साधनका लाइनहरू देखिएका छन्।

पम्पका कर्मचारीहरूका अनुसार सन् १९९० को खाडी युद्धका बेला पनि नदेखिएको यस्तो भीड अहिले देखिएको छ। उता म्यान्मारमा पनि अवस्था उत्तिकै जटिल छ, जहाँ तेलको भण्डार जोगाउन सरकारले प्रत्येक दिन आधा निजी सवारीसाधन मात्र सडकमा निकाल्न पाउने नियम लागू गरेको छ। गृहयुद्धका कारण पहिले नै कमजोर रहेको म्यान्मारको ऊर्जा आपूर्तिमा अन्तर्राष्ट्रिय मूल्य वृद्धिले थप समस्या थपेको छ, जसका कारण थाइल्यान्डसँगको सीमावर्ती क्षेत्रमा इन्धनको मूल्य तीन गुणासम्म बढेको छ।

सङ्कटको बाछिटा भियतनाम र फिलिपिन्समा पनि उत्तिकै देखिएको छ। भियतनाममा पेट्रोलको मूल्य २० प्रतिशतभन्दा बढीले बढेपछि हजारौँ मोटरसाइकल चालकहरू घन्टौँसम्म लाइनमा बस्न बाध्य छन्। हनोईका कतिपय पम्पहरूमा लामो प्रतीक्षापछि पालो आउँदा तेल सकिएको जानकारी दिइँदा चालकहरू निरास भएर फर्कने गरेका छन्।

यस्तै दृश्यहरू पाकिस्तान र श्रीलङ्कामा पनि दोहोरिएका छन्, जहाँ अधिकारीहरूले नागरिकलाई इन्धन अनावश्यक भण्डारण नगर्न चेतावनी दिएका छन्। दक्षिण कोरियाका सचेत नागरिकहरूले पनि सम्भावित सङ्कटलाई मध्यनजर गर्दै सस्तो पम्प देख्नेबित्तिकै इन्धन भर्ने बानी बसाल्न थालेका छन्।

यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिका–इजरायल युद्ध छिट्टै अन्त्य हुन सक्ने संकेत गरेपछि मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा केही गिरावट आएको छ। तर, त्यसअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेर सन् २०२२ को रुस–युक्रेन युद्धपछिकै उच्च विन्दुमा पुगेको थियो।

इरानले खाडी क्षेत्रलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेपछि होर्मुज जलडमरूमध्य जस्तो संवेदनशील मार्ग प्रभावित भएको छ, जहाँबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल ओसारपसार हुने गर्दछ। चीन, भारत र जापान जस्ता ठूला अर्थतन्त्र भएका देशहरूमा हालसम्म व्यापक अभाव नदेखिए पनि विश्व सुरक्षा संरचनामा आएको यो परिवर्तनले समग्र एसियाली बजारलाई भने त्रसित बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ