arrow

रौतहटमा नीलगाईको आतङ्क: बाली जोगाउन किसान रातभर खेतमै जाग्राम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
nilgai.jpg

रौतहट । रौतहटको मध्य तथा दक्षिणी क्षेत्रमा पर्ने बौधिमाई र मौलापुर नगरपालिकाका किसानहरू यतिबेला जङ्गली जनावर ‘निलगाई’ (घोडगदा) का कारण निकै सास्ती खेपिरहेका छन्। केही समययता यस क्षेत्रमा नीलगाईको सङ्ख्या र सक्रियता बढेसँगै किसानले लगाएको नगदे तथा खाद्यान्न बालीमा ठुलो क्षति पुगेको छ।

स्थानीय किसानका अनुसार नीलगाईको बथान नै खेतमा पसेर गहुँ, मुसुरो, तोरी र मौसमी तरकारी बाली नष्ट गरिरहेका छन्। यी जनावरले बाली खाने मात्र नभई, खेतमा दौडिँदा बिरुवाहरू कुल्चिएर समेत सखाप पार्ने गरेका छन्। बौधिमाईका किसान विजय साह भन्छन्, "दिनरात पसिना बगाएर हुर्काएको बाली एकै रातमा नीलगाईले सिध्याइदिन्छ। बिहान खेतमा जाँदा सबै नष्ट भएको देख्दा मन रुन्छ, यसपालि घर खर्च कसरी चलाउने भन्ने चिन्ताले सताएको छ।"

पछिल्लो समय नीलगाईको डर यति बढेको छ कि यिनीहरू बिहान सबेरै र दिउँसो समेत निर्धक्क गाउँबस्ती नजिक आउन थालेका छन्। मौलापुरका किसानहरू आफ्नो बाली जोगाउन लाठी र टर्च बोकेर रातभर खेतमै जाग्राम बस्न बाध्य छन्। कतिपयले खेतको वरिपरि झुल वा जाली हालेर छेक्ने प्रयास गरे पनि नीलगाईको बथानले त्यसलाई सजिलै तोडेर भित्र छिर्ने गरेको स्थानीयको गुनासो छ।

नीलगाईको आतङ्कबाट आजित किसानहरूले स्थानीय सरकार र डिभिजन वन कार्यालयलाई पटक–पटक जानकारी गराएका छन्। तर, हालसम्म कुनै ठोस पहल नभएको उनीहरूको आरोप छ। स्थानीय किसान कृष्ण दयालले आक्रोश पोख्दै भने, "हामी कति दिन खेतमै सुतेर बाली कुरिरहने? वन कार्यालय र नगरपालिकाले हाम्रो क्षतिपूर्ति र सुरक्षाका लागि उचित व्यवस्था मिलाइदिनुपर्छ।"

वन ऐन र वन्यजन्तु संरक्षण नियमावलीका कारण किसानहरूले नीलगाईलाई नियन्त्रण गर्न कानुनी बाधा झेल्नुपरेको छ। वन क्षेत्रबाट आउने यी जनावरको सङ्ख्या बढ्दै जाँदा किसानहरू कृषि कर्मबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ। रौतहटको कृषि उत्पादन जोगाउन र किसानलाई ऋणको भुमरीबाट बचाउन नीलगाईलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न वा खेतको घेराबन्दीका लागि सहयोग गर्न स्थानीयले सरकारसँग जोडदार माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ