काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा नेपालमा विप्रेषण (रेमिट्यान्स) भित्रिने दरमा निकै ठूलो उछाल आएको छ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७.५ प्रतिशतको वृद्धिको तुलनामा निकै उत्साहजनक हो। माघ महिनामा मात्रै करिब १ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्याङ्कले देखाएको छ।
अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण आप्रवाहमा ३३ प्रतिशतको वृद्धि देखिएको छ, जसअनुसार सात महिनामा ८ अर्ब ८६ करोड डलर नेपाल भित्रिएको छ। अघिल्लो वर्ष डलरमा यस्तो वृद्धिदर मात्र ५.५ प्रतिशत रहेको थियो।
यसरी रेमिट्यान्स बढ्नुमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदान प्रमुख देखिए पनि नयाँ श्रम स्वीकृति लिनेको संख्यामा भने केही गिरावट आएको छ। प्रतिवेदनअनुसार यस अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ४५ हजार १५३ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो।
नयाँ श्रम स्वीकृति लिनेको संख्या घटे तापनि पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा भने बढोत्तरी भएको छ। गत वर्ष १ लाख ९० हजार ८८६ जनाले पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष सो संख्या बढेर २ लाख २७ हजार ४२४ पुगेको छ।
यसरी पुनः श्रम स्वीकृति लिनेहरूको वृद्धि र डलरको मजबुत विनिमय दरका कारण समग्र विप्रेषण आप्रवाहमा ठुलो सुधार आएको राष्ट्र बैंकको विश्लेषण छ।