दश वर्षमा एक सय बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
क्षमता छ तर संकल्प छैन: गैरआवासीय नेपालीलाई उपेन्द्र महतोको प्रश्न— "गुनासो मात्रै कति गर्ने?"
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३० शनिबार
856
Shares
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ संकल्पको अभाव रहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित संघको १२ औँ एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले देश बनाउने अठोट भएमा छोटो समयमै आर्थिक फड्को मार्न सकिने विश्वास व्यक्त गरे।
महतोका अनुसार नेपालीहरू बौद्धिक, आर्थिक, शारीरिक र मानसिक रूपमा सक्षम छन्। उनले आगामी १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य सजिलै भेटाउन सकिने तर्क गरे। नेपालभित्रको अर्थतन्त्र र बाहिर रहेका करिब ८० लाख नेपालीहरूको आर्थिक गतिविधिलाई जोड्ने हो भने अहिले नै नेपालको अर्थतन्त्र १०० बिलियन डलरको हाराहारीमा पुग्न लागेको उनको भनाइ छ। हाल वार्षिक करिब २० अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिरहेको तथ्यलाई उनले सकारात्मक रूपमा प्रस्तुत गरे।
सरकारसँग गुनासो मात्रै गर्ने प्रवृत्ति त्यागेर देश निर्माणमा सक्रिय भूमिका खेल्न उनले गैरआवासीय नेपालीहरूलाई आह्वान गरे। विदेशी लगानी आकर्षित गर्नुअघि स्वदेशी निजी क्षेत्र र गैरआवासीय नेपालीहरूको लगानीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए। जबसम्म यी दुई पक्षको लगानी मजबुत हुँदैन, तबसम्म बाह्य लगानी भित्रिन सहज नहुने उनको तर्क छ।
साथै, उनले नेपालको निजी क्षेत्रले पछिल्लो समय गैरआवासीय नेपालीहरूलाई बेवास्ता गरेकोमा गुनासो समेत गरे। केही व्यक्तिबीचको मतभेदलाई लिएर संस्थालाई नै भेदभाव नगर्न आग्रह गर्दै उनले स्वदेशी र विदेशी नेपाली लगानीकर्ता मिलेर काम नगरेसम्म देशले आर्थिक प्रगति गर्न नसक्ने स्पष्ट पारे। उनले विदेशमा बसेर सुझाव मात्र दिनुभन्दा नेपालमै आएर प्रत्यक्ष योगदान पुर्याउनु सबैको दायित्व भएको बताए।