arrow

म मरेको रात

logo
विभूती पोखरेल, 
प्रकाशित २०८२ फागुन ३० शनिबार
bibhuti-pokharel-82-11-30.jpg

म मरेको रात
सहरले
आफ्ना झ्यालहरू बन्द गर्‍यो ।
मानौँ
आकाशले पनि
मेरो आवाज सुन्न
डराएको थियो । 
म चिच्याउन चाहन्थेँ
तर मेरो आवाज
मेरै घाँटीभित्र
कुनै अदृश्य हातले थिचिरहेको थियो
मलाई त्यो बेला
मर्नु भन्दा धेरै
बाँच्न मन थियो।
मलाई घर फर्किन मन थियो।
आमालाई फेरि बोलाउन मन थियो।
भोलि बिहान
घाम हेर्न मन थियो।
तर रात
धेरै निर्दयी थियो।
म त्यहीँ
डर र अन्धकारको बीचमा
बिस्तारै निभ्दै गएँ
मलाई मार्ने हात
केवल एउटा हात थिएन।
त्यो हातमा
समाजको मौनता थियो,
कानुनको ढिलाइ थियो,

तिम्रो डरले बनाएको
अदृश्य पर्खाल थियो।
जब म चिच्याइरहेकी थिएँ
सहर सुतिरहेको थियो
मानौँ
मानवता
आज छुट्टीमा गएको थियो।
त्यो रात
सहरले
आफ्नो उज्यालो बचायो,
र मेरो आवाज
अन्धकारलाई सुम्पियो।
आज
मेरो शरीर
माटोको एउटा मौन कथा हो।
जब रात धेरै गहिरो हुन्छ
र सहर
आफ्नै निद्रामा हराउँछ
त्यो बेला
मेरो प्रश्न उठ्छ।
यो देशमा
छोरी भएर जन्मिनु
किन कहिलेकाहीँ
जीवन होइन
भाग्यसँगको युद्ध हुन्छ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ