पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३० शनिबार
1k
Shares
काठमाडौँ । पारिजात स्मृति केन्द्रले साहित्यकार पारिजातको ९२औँ जन्मजयन्तीका अवसरमा 'पारिजात सम्मान २०८२' बाट सम्मानित हुने चार व्यक्तित्वहरूको नाम घोषणा गरेको छ। बिहीबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले आगामी वैशाख ५ गते पारिजात स्मृति दिवसका दिन यी सम्मानहरू प्रदान गरिने जानकारी दिए।
यस वर्ष विभिन्न विधामा सम्मानित हुने प्रतिभाहरूमा 'पारिजात बालसाहित्य सम्मान' बाट बालसाहित्यकार रामबाबु सुवेदी, 'पारिजात कला सम्मान' बाट गीतकार तथा सङ्गीतकार शरद पौडेल, 'पारिजात सृजन सम्मान' बाट नवीन विभास र 'पारिजात सङ्घर्षशील महिला सम्मान' बाट देवी खड्का रहेका छन्।
केन्द्रले विसं १९९० फागुन ३० गते जन्मनुभएकी पारिजातको सम्झनामा हरेक वर्ष जन्मजयन्ती मनाउँदै आएको छ। यस वर्षको उत्सवमा ‘पारिजात परिसंवाद’ अन्तर्गत प्राडा वासुदेव त्रिपाठी र डा. महेश मास्केबीच वैचारिक छलफल समेत सञ्चालन गरिएको थियो। कार्यक्रममा साहित्य अनुरागी, सर्जक र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।