arrow

लक्ष्यअनुसार राजस्व उठाउन सरकार असफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
finance-ministersss.jpg

काठमाडौँ। सरकारले फागुनसम्ममा सात खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब आम्दानी गर्ने लक्ष्य राखेको सरकारले सात खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख राजश्व संकलन गरेको हो ।

गत आवको सोही अवधिसम्म सात खर्ब २९ अर्ब ६५ करोड ८८ लाख संकलन भएको थियो ।

समीक्षा अवधीमा भ्याट, अन्तःशुल्क भन्सार महशुललगायत शीर्षकको राजस्व संकलन बढेको छ भने अन्य शीर्षकमा भने सरकारले राजश्व सोचेअनुसार उठाउन सकेको छैन ।

अर्थ मन्त्रालयका अनुसार आयकर, ब्याजकरसहितका शीर्षकमा अघिल्लो वर्षको तुलनामा राजश्व उठाउन सकेको छैन ।

आयकरतर्फ फागुनसम्म एक खर्ब ७० अर्ब ९० करोड रुपैयाँ आयकर संकलन भएको छ । गत आवको फागुनसम्म भने एक खर्ब ७३ अर्ब २६ करोड संकलन भएको थियो ।

गत आवको फागुनसम्म २२ अर्ब ५९ करोड ४६ लाख ब्याज कर संकलन भएको थियो । जबकि चालु आवमा १९ अर्ब ५१ करोडमात्रै संकलन भएको छ । 

भन्सार महशुल चालु आवको फागुन मसान्तसम्ममा  एक खर्ब ५५ अर्ब ९० करोड संकलन भएको छ ।

यस्तै मूल्य अभिवृद्धि कर दुई खर्ब २५ अर्ब ५३ करोड संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। 

सरकारले फागुनसम्म नौ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको थियो । 

आठ महिनामा कति भयो खर्च ?

सरकारले चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब २६ अर्ब कुल बजेट खर्च गरेको छ । चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो । 

चालुतर्फ ११ खर्ब ८० अर्ब बजेटमध्ये  सरकारले छ खर्ब ४२ अर्ब खर्च गरेको छ।

यता विकास बजेट भने सरकारले खर्च गर्न सकेको छैन। पुँजीगततर्फ चार खर्ब सात अर्ब बजेटमध्ये सरकारले ७८ अर्ब खर्च गरेको छ। 

सार्वजनिक ऋणको सावा ब्याजसहितको दायित्व व्यवस्थापनमा सरकारले तीन खर्ब ७५ अर्ब बजेट छुट्याएकोमा हालसम्म दुई खर्ब पाँच अर्ब भन्दा बढी रकम खर्च गरिसकेको छ ।

पछिल्लो समय विदेशी मुद्रामा देखिएको उतारचढावले पनि सरकारलाई ऋण व्यवस्थापनमा चुनौती थप्दै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ