काठमाडौँ जिल्ला प्रशासनमा 'सार्वजनिक सम्बोधन प्रणाली' शुरू [भिडियो]
सरकारी सेवालाई पारदर्शी बनाउन काठमाडौँ सिडिओ कार्यालयको नयाँ पहल
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
760
Shares
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरकारी सेवालाई थप सुशासनयुक्त, प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यले 'सार्वजनिक सम्बोधन प्रणाली' (पब्लिक एनाउन्समेन्ट सिस्टम) कार्यान्वयनमा ल्याएको छ। सोमबार आयोजित एक विशेष समारोहका बीच यो प्रणालीको औपचारिक शुभारम्भ गरिएको हो।
नयाँ प्रणालीबारे जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सेवाग्राहीले सहज र छिटो सेवा पाउन सकुन् भन्ने लक्ष्यका साथ यो प्रविधि शुरू गरिएको बताए। उनले परम्परागत सरकारी कार्यशैलीमा कर्मचारी भित्र र सेवाग्राही बाहिर बस्ने दूरीलाई हटाएर अब एउटै स्थानमा बसेर सेवा दिने नयाँ मोडेल विकास गरिएको उल्लेख गरे। विशेष गरी 'जेन–जी' आन्दोलनपछि उठेका पारदर्शिता र जवाफदेहिताका आवाजहरूलाई सम्बोधन गर्न यो नविनतम मोडेल ल्याइएको उनको दाबी छ।
प्रजिअ पौडेलले भीडभाड हुने अन्य सरकारी कार्यालयहरूमा समेत यो प्रणाली विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। यस प्रणालीको प्रभावकारिता बुझ्न र निरीक्षण गर्न प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल लगायतका विशिष्ट पदाधिकारीहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए। यो प्रणालीले सरकारी सेवा प्रवाहलाई थप व्यवस्थित र पारदर्शी बनाउने विश्वास गरिएको उनले बताए।