घोगा लाग्ने बेलाको मकै बोट ढलेर सोत्तर, किसानले मागे राहत
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
677
Shares
काठमाडौँ । सोमबार बेलुका आएको विनाशकारी हावाहुरीले रौतहटका विभिन्न स्थानमा लगाइएको मकै बालीमा ठुलो क्षति पुर्याएको छ। घोगा लाग्ने बेलाको मकै बोटै ढलेर सोत्तर भएपछि यहाँका किसानहरू निकै चिन्तित बनेका छन्।
विशेष गरी जिल्लाको मकै पकेट क्षेत्र मानिने चन्द्रपुर, गुजरा र बृदावन नगरपालिकामा हुरीले बढी क्षति गरेको स्थानीयले जनाएका छन्। सोमबार बेलुका करिब १० मिनेटसम्म चलेको तीव्र गतिको हावाहुरीले खेतमा हरियाली छाएको मकै बालीलाई क्षणभरमै काम नलाग्ने गरी ढालेको छ।
चन्द्रपुर नगरपालिका वडा नं. २ का किसान सुब्बा कार्कीले यस वर्ष मकैबाट राम्रो आम्दानी हुने आशा राखे पनि हुरीले सपना चकनाचुर पारेको बताएका छन्। "महँगो मल, सिँचाई र कामदारमा ठुलो खर्च गरेर बाली हुर्काइयो, तर १० मिनेटको हुरीले सबै मिहिनेत खेर फालिदियो," कार्कीले दुखेसो पोखे। उनका अनुसार वर्षा नभई तीव्र हावा मात्र चलेकाले मकैका बोटहरू भाँचिने र उखेलिने क्रम बढी भएको हो।
मकैबाहेक आँप र लिचीमा लागेका बतिला (मजुर) समेत हुरीले झारिदिएपछि फलफूल खेती गर्ने किसानलाई पनि उत्तिकै मार परेको छ। चन्द्रपुर नगरपालिका वडा नं. ३ र ४ मा लगाइएको केरा खेतीमा पनि हावाहुरीले व्यापक क्षति पुर्याएको समाचारमा उल्लेख गरिएको छ।
हुरीको प्रभाव कृषिमा मात्र सीमित रहेन। जिल्लाका विभिन्न स्थानमा कच्ची घरका छाना, खपडा, टाली र जस्तापाताहरू समेत उडाएपछि सर्वसाधारणको जनजीवन प्रभावित भएको छ।
कृषि ज्ञान केन्द्र रौतहटका अनुसार हावाहुरीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने जिम्मा सम्बन्धित स्थानीय तहका कृषि शाखालाई दिइएको छ। पालिकाहरूले संकलन गर्ने विवरणकै आधारमा राहत तथा क्षतिपूर्तिको प्रक्रिया अगाडि बढ्ने केन्द्रले जनाएको छ। मुख्य आयस्रोत मानिने मकै बाली नष्ट भएपछि लागत समेत नउठ्ने अवस्था आएको भन्दै किसानहरूले सरकारसँग उचित क्षतिपूर्तिको माग गरेका छन्।