काठमाडौँ । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्धले १९औँ दिनमा प्रवेश गर्दा निकै भयानक मोड लिएको छ। पछिल्लो २४ घण्टामा इजरायलले गरेको लक्षित आक्रमणमा इरानका उच्च सुरक्षा नेता (सेक्युरिटी चीफ) अली लारिजानी र उनका छोराको मृत्यु भएपछि युद्ध थप उत्कर्षमा पुगेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आफ्ना प्रमुख नेता लारिजानी र उनका छोराको मृत्यु भएको आधिकारिक पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आफ्ना शीर्ष कमाण्डरको हत्या भएलगत्तै इरानले इजरायलको व्यावसायिक राजधानी तेल अभिभलाई निशाना बनाउँदै १०० भन्दा बढी शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ। आईआरजीसीले यो आक्रमण लारिजानी उनका छोरा र 'बसीज' प्यारामिलिट्री फोर्सका कमाण्डर घोलामरेजा सुलेमानीको हत्याको प्रतिशोध लिन गरिएको उल्लेख गरेको छ।
इरानले इजरायलको विश्वप्रसिद्ध र अत्याधुनिक प्रतिरक्षा प्रणाली (डिफेन्स सिस्टम) लाई समेत चकमा दिँदै आफ्ना क्षेप्यास्त्रहरूले सैन्य र रणनीतिक केन्द्रहरूमा ठुलो क्षति पुर्याएको दाबी गरेको छ। यता इजरायलले भने इरानी क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक महिलाको मृत्यु भएको पुष्टि गर्दै धेरैजसो आक्रमणलाई आकाशमै विफल पारिदिएको जनाएको छ।
आक्रमण र प्रत्याक्रमणको यो शृङ्खलाले मध्यपूर्वमा तनावलाई अनियन्त्रित मोडतर्फ धकेलेको सुरक्षा विश्लेषकहरूले बताएका छन्। इरानले आफ्ना प्रमुख नेतृत्व गुमाएपछि आगामी दिनमा अझै कडा कदम चाल्ने चेतावनी दिएकाले यो क्षेत्रमा ठुलो मानवीय र आर्थिक सङ्कट निम्तिन सक्ने देखिएको छ।