मध्यपूर्वका नेपालीका लागि एनआरएनएले एक करोड संकलन गर्ने
एनआरएनए पदाधिकारीलाई राजनीति गर्न रोक
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
595
Shares
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिका पदाधिकारीहरूले कुनै पनि राजनीतिक दल तथा भ्रातृ संगठनहरूमा आबद्ध नहुने प्रतिबद्धता जनाएका छन्। १२औँ महाधिवेशनबाट गठित कार्यसमितिको बुधबारको बैठकमा संघका सम्पूर्ण पदाधिकारीले यस्तो प्रतिबद्धता जनाएको संघका अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिए।
अध्यक्ष शर्माका अनुसार पदाधिकारीहरूले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन्। उनले युद्ध प्रभावित मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले तत्काल एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने र सो रकम तुरुन्तै रिलिज गर्ने निर्णय गरेको पनि बताए।
संघका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम एक करोड रुपैयाँ संकलन गर्ने र सो रकम विशेष टास्क फोर्सको योजनाअनुसार मध्यपूर्वमा रहेका नेपालीको सहयोगका लागि खर्च गरिने शर्माले बताए। हाल संघमा करिब एक लाख ३० हजार सदस्य रहेको उल्लेख गर्दै बैठकले प्रत्येक सदस्यबाट कम्तीमा एक डलर संकलन गर्ने निर्णय गरेको छ।
अध्यक्ष शर्माले भने, "मध्यपूर्वमा रहेका नेपालीका लागि हामीले एक करोडको कोष स्थापना गरेर आजै फण्ड रिलिज गरेका छौँ। यो कार्यकालभरि यस कोषलाई ६ करोडको बनाउने निर्णय भएको छ।"
संघका पदाधिकारीले संस्थामा रहुञ्जेल कुनै पनि राजनीतिक दल वा दलको भ्रातृ संगठनको पदाधिकारी बन्न नपाइने र सामाजिक सञ्जालमार्फत कसैको चरित्रहत्या नगर्ने गरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्। राजनीतिक दलमा आबद्ध रहेका साथीहरूले समेत राजीनामा दिने गरी प्रतिबद्धता जनाएको उनले बताए।
बैठकले सचिवालय व्यवस्थापन लगायतका अन्य विभिन्न निर्णयहरू पनि गरेको शर्माले बताए। नवगठित कार्यसमितिको बैठक शुक्रबारसम्म जारी रहनेछ।