खाडी क्षेत्रमा इरानी आक्रमणको जीसीसी र ईयूको भर्त्सना
ऊर्जा बजार र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
1.7k
Shares
काठमाडौँ । खाडी सहयोग परिषद् (जीसीसी) का महासचिव जसेम मोहम्मद अलबुदैवी र खाडी क्षेत्रका लागि युरोपेली युनियन (ईयू) का विशेष प्रतिनिधि लुइगी डि माइओबीच जीसीसी मुलुकहरूमा भइरहेका गम्भीर इरानी आक्रमणहरूबारे विशेष छलफल भएको छ।
भेटका क्रममा उनीहरूले इरानी आक्रमणले क्षेत्रीय मात्र नभई अन्तर्राष्ट्रिय सुरक्षाका लागि समेत ठुलो खतरा खडा गरेको निष्कर्ष निकालेका छन्। आक्रमणले नागरिकको सुरक्षा र जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको, मानवीय क्षति पुर्याएको र ठुलो भौतिक विनाश निम्त्याएको विषयमा उनीहरूले गम्भीर ध्यानाकर्षण गराएको सङ्घले जनाएको छ।
महासचिव अलबुदैवीले विश्वव्यापी आपूर्ति शृङ्खलाको सुरक्षा र ऊर्जा बजारको स्थिरता सुनिश्चित गर्न क्षेत्रीय हवाई क्षेत्र र समुद्री मार्गहरूको स्वतन्त्रता कायम राख्नुपर्नेमा जोड दिएका छन्। विशेष गरी होर्मुज र बाब एल–मन्डेब जस्ता महत्त्वपूर्ण जलमार्गहरूमा अवरोध हुन नदिनु विश्व अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहेको उनले बताए।
ईयूका विशेष प्रतिनिधि लुइगी डि माइओले जीसीसी सदस्य राष्ट्रहरूप्रति युरोपेली युनियनको पूर्ण ऐक्यबद्धता व्यक्त गरेका छन्। उनले खाडी मुलुकहरूविरुद्ध बारम्बार भइरहेका इरानी आक्रमणहरूको कडा निन्दा गर्दै यसले यस क्षेत्रको शान्ति र स्थिरतामा अत्यन्तै नकारात्मक प्रभाव पारेको बताए।
इरान र इजरायलबीचको बढ्दो सैन्य टकरावले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरूलाई निशाना बनाइरहेका बेला अन्तर्राष्ट्रिय समुदायको यो सक्रियतालाई निकै महत्त्वका साथ हेरिएको छ।