एक महिनामै पाँच सय दुई विपद्का घटना: कोशी प्रदेश सबैभन्दा बढी प्रभावित
१८ जनाको मृत्यु हुनुका साथै १२४ जना घाइते, ५० परिवार विस्थापित
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
764
Shares
काठमाडौँ । नेपालमा गएको एक महिनामा विपद्जन्य विभिन्न घटनामा परेर १८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले फागुन महिनामा मात्रै पाँच सय दुई वटा विपद्का घटना भएको र ती घटनामा परेर १८ जनाको मृत्यु हुनुका साथै १२४ जना घाइते भएको जानकारी दिएका छन्।
मृत्यु हुनेमा पाँच पुरुष, नौ महिला र चार जना बालबालिका छन्। यसैगरी घाइते हुनेमा ५३ पुरुष, ५३ महिला र १८ जना बालबालिका रहेका छन्। प्रहरी मुख्यालयका अनुसार ती विपद्का कारण ७४ वटा घर र ३५ वटा गोठमा क्षति पुगेको छ भने १०६ वटा पशुचौपाया मरेका छन्। विपद्का कारण ५० परिवार पूर्ण रूपमा विस्थापित भएका छन्।
प्रहरी प्रधान कार्यालयले दिएको तथ्याङ्क अनुसार फागुनमा सबैभन्दा बढी विपद्का घटना कोशी प्रदेशमा १४३ वटा भएका छन्। यस्तै मधेस प्रदेशमा १०६, बागमतीमा ३३, काठमाडौँ उपत्यकामा ३५, गण्डकीमा ५२, लुम्बिनीमा ६३, कर्णालीमा २८ र सुदूरपश्चिम प्रदेशमा ४२ वटा विपद्का घटना भएको प्रवक्ता काफ्लेले बताए।
विपद्का मुख्य कारणहरूमा आगलागी, चट्याङ, जनावरको आक्रमण, महामारी, हुरीबतास, हिमपात, लेक लाग्ने र सर्पदंश रहेका छन्। यी घटनाहरूबाट करिब १५ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए।