रौतहटमा वर्षा र हावाहुरीको वितण्डा: चार करोडका काँचो इँटा नष्ट, व्यवसायी बिचल्लीमा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
661
Shares
काठमाडौँ । चैतको ६ र ७ गते (शुक्रबार र शनिबार) परेको अविरल वर्षा र हावाहुरीका कारण रौतहटका इँटा उद्योगहरूमा ठुलो क्षति पुगेको छ। खुला स्थानमा सुकाउन राखिएका काँचो इँटाहरू पानीले भिजेर नष्ट हुँदा जिल्लाभर करिब ४ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ।
रौतहट इँटा उद्योग व्यवसायी संघका अध्यक्ष एवं एसपिएल इँटा उद्योगका सञ्चालक रामबिनोद साहका अनुसार जिल्लाका करिब ५० वटा उद्योगहरूमा वर्षाले निकै असर पारेको छ। संकलित तथ्याङ्कअनुसार १० लाखभन्दा बढी संख्यामा रहेका काँचो इँटाहरू पूर्ण रूपमा गलेर माटोमा परिणत भएका छन्।
वृन्दावन नगरपालिका–२ स्थित राधाकृष्ण इँटा उद्योगका सञ्चालक प्रेमशंकर यादवले आफ्नो उद्योगमा मात्रै ५५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताए। जिल्लाका बिके, वीर, पूजा, एमबिआई, सोना र रामजानकी लगायतका ५० वटा उद्योगहरू नराम्ररी प्रभावित भएका छन्।
एउटा काँचो इँट्टा तयार गर्न माटो, पानी र मजदुरीसहित औसत ७ रुपैयाँभन्दा बढी लागत लाग्ने गर्दछ। सुकाउने प्रक्रियामै रहेका इँट्टाहरू वर्षाले गलाएपछि व्यवसायीहरूको ठुलो लगानी बालुवामा पानी हालेझैँ भएको छ।
प्राकृतिक प्रकोपबाट बारम्बार यस्तो क्षति भोग्नुपरे पनि सरकार र वित्तीय निकायले चासो नदेखाएको व्यवसायीहरूको गुनासो छ। अध्यक्ष साहले भने, ‘हाम्रो लगानी डुब्न लाग्दा पनि सरकार वा स्थानीय प्रशासनले कुनै वास्ता गरेका छैनन्। हामीले काँचो इँट्टाको पनि बिमा प्रणाली हुनुपर्छ भनेर बारम्बार माग गर्दै आएका छौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन।’
बिमा सुविधा नहुँदा हरेक वर्ष व्यवसायीहरूले ठुलो जोखिम मोल्नु परिरहेको छ। पीडित इँटा उद्योगीहरूले अहिलेको संकटपूर्ण घडीमा सरकार, उद्योग मन्त्रालय र विपद् व्यवस्थापन निकायलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन रूपमा बिमाको व्यवस्था मिलाउन जोडदार माग गरेका छन्।