arrow

चुनढुङ्गादेखि तामा खानीसम्मको अन्वेषण तीव्र, एक सय ६६ कम्पनीलाई उत्खनन अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
khani-tatha-bhugarbha-bibhag.jpg

काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशका विभिन्न भागमा रहेका खनिज सम्पदाको उत्खननका लागि १६ प्रकारका खनिजजन्य वस्तु पहिचान गरी अनुमति प्रदान गरेको छ। स्वदेशमा रहेका खनिजको अन्वेषण गरी औद्योगिक विकास र आर्थिक समृद्धिलाई टेवा पुर्‍याउने उद्देश्यले विभागले यो इजाजत दिएको हो।

विभागका अनुसार गत आर्थिक वर्षसम्ममा चुनढुङ्गा, रातोमाटो, धातु, पत्थर, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामालगायतका खानी उत्खननका लागि अनुमति दिइएको छ। सूचना अधिकारी नारायण बाँस्कोटाले दिएको जानकारीअनुसार खानी प्रस्तावको विस्तृत अध्ययन र प्रक्रिया पूरा गरेका १६६ वटा स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले यस्तो अनुमति पाएका छन्।

विभागले खानी अनुमति प्रदान गर्दा वातावरणीय प्रभाव मूल्याङ्कनलाई मुख्य आधार बनाउने गरेको छ। खनिज उत्खनन गर्दा वातावरणमा असर नपर्ने, राजस्व सङ्कलन हुने र स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने गरी आवश्यक सर्तहरू तोकिएको विभागले जनाएको छ। हालसम्म करिब एक सयवटा चुनढुङ्गा खानीले मात्र उत्खननको इजाजत प्राप्त गरेका छन्।

प्रचुर सम्भावना भए तापनि नेपालमा खनिज सम्पदाको सोचेजस्तो विकास हुन सकेको छैन। सूचना अधिकारी बाँस्कोटाका अनुसार भौगोलिक विकटता, यातायातको पहुँच नहुनु, पुँजी र आधुनिक प्रविधिको अभाव यसका मुख्य कारण हुन्। धेरैजसो खनिज पदार्थ दुर्गम र भिरालो स्थानमा रहेकाले उत्खनन र ढुवानी कार्य निकै कठिन र खर्चिलो हुने गरेको छ।

यसका साथै लगानीमैत्री वातावरणको कमी, नीतिगत समस्या, वातावरणीय जोखिम र महँगो उपकरणका कारण खनिज क्षेत्रमा ठुलो लगानी भित्रिन सकेको छैन। विभागले यी चुनौतीका बाबजुद विस्तृत अन्वेषण र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ