काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को २०२६-२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा रमेश श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन् ।
लामो समयदेखि यूएईसहित मध्यपूर्व क्षेत्रमा व्यावसायिक तथा सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठ एनआरएनएभित्र अनुभवी, संयमित र परिणाममुखी नेतृत्वका रूपमा परिचित छन् ।
उनी जीसीडी ग्रुपका अध्यक्ष हुन् । साधारण सदस्यबाट शुरू भएको उनको सङ्गठनात्मक यात्रा एनसीसी युएईको अध्यक्ष हुँदै मध्यपूर्व डीआरसी हुँदै अन्तर्राष्ट्रिय तहसम्म पुगेको छ, जसले उनलाई व्यवहारिक र जिम्मेवार नेतृत्वको रूपमा स्थापित गरेको छ ।
निर्वाचनपछि आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै श्रेष्ठले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हक हितलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे ।
उनले हाल मध्यपूर्व द्वन्दबाट समस्यामा परेका कामदारको तत्काल उद्धार, राहत तथा सहयोगका लागि आपत्कालीन राहत कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
उक्त कोषमार्फत दुर्घटना, बिरामी, कानूनी जटिलता वा अन्य सङ्कटमा परेका नेपालीलाई छिटो र प्रभावकारी सहायता उपलब्ध गराइनेछ ।
यसैगरी, मध्यपूर्व क्षेत्रमा देखिएको संस्थागत विभाजन अन्त्य गर्दै हाल रहेका दुईटा एनसीसी संरचनालाई एकीकृत गरी सुदृढ र प्रभावकारी संगठन निर्माण गर्ने उनको प्रमुख योजना छ ।
एनआरएनएको १२औँ एकता महाधिवेशनमार्फत निर्विरोध चयन भएका श्रेष्ठको नेतृत्वलाई मध्यपूर्वमा श्रमिक केन्द्रित नीति, सङ्गठनात्मक एकता र प्रभावकारी कार्यान्वयनको नयाँ अध्यायको रूपमा हेरिएको छ ।
श्रेष्ठले आफ्नो अघिल्लो कार्यकालमा नसकिएको कार्य यो कार्यकालमा गर्ने बताए ।