रामेछाप उद्योग वाणिज्य संघमा कुमार र प्रकाश भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
465
Shares
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा मात्र प्रतिस्पर्धा हुने भएको छ । अन्य सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ ।
संघको १५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष बाहेकका सबै पदमा एकल उम्मेद्वारी परेपछि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष पदका लागि भने दुई जना उम्मेद्वारबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
मंगलबार स्वतन्त्र उम्मेद्वारका रूपमा वर्तमान महासचिव कुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन् । उनीसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा निकट व्यवसायीहरूको संयुक्त प्यानलबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ पनि मैदानमा छन् ।
निर्विरोध चयन हुने पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा आकाश रिजाल, वाणिज्य उपाध्यक्षमा सुरेश उदास, उद्योग उपाध्यक्षमा रामसुदिश शाह सोनार, महासचिवमा यज्ञ प्रसाद सुवेदी, सचिवमा सीताराम लोहार र कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम) छन् ।
यसैगरी संयुक्त व्यवसायी टिमबाट वासुदेव फुयाँल आजीवन कार्यसमिति सदस्यमा पुनः चयन भएका छन् । महिला सदस्यमा मञ्जु माझी निर्विरोध हुँदा खुला सदस्यतर्फ श्यामकुमार श्रेष्ठ, किशोर पौडेल, सुरोजकुमार तामाङ, देवचन्द्र कठेत र राजु श्रेष्ठ चयन भएका छन् ।
यस पटक पहिलोपटक समावेश गरिएको एसोसियट सदस्यतर्फ टिकाराज आरण निर्विरोध रूपमा कार्यसमितिमा प्रवेश गरेका छन् ।
संघको १५ औँ वार्षिक साधारणसभा चैत १९ र नवौँ जिल्ला अधिवेशन तथा निर्वाचन चैत २० गतेका लागि तय गरिएको छ ।
अध्यक्ष पदमा हुने प्रतिस्पर्धालाई संघको आगामी नेतृत्व चयनमा विशेष चासोका साथ हेरिएको छ ।