arrow

श्रम स्वीकृतिमा अब टोकन प्रणाली अन्त्य, आवेदन दिएकै दिन स्वीकृति पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
rojgar office.jpg

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एउटा ठूलो राहतको निर्णय गरेका छन्। आइतबार मन्त्रालयमा बसेको बैठकले वर्षौँदेखि कायम रहेको झन्झटिलो 'टोकन प्रणाली' अन्त्य गर्दै अब आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ। यसअघि श्रमिकहरूले टोकन लिएर तोकिएको दिनसम्म कुर्नुपर्ने बाध्यता थियो, जसले गर्दा धेरैको उडान नै छुट्ने जोखिम हुन्थ्यो।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीलाई थप प्रविधिमैत्री बनाउन पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाउने र डिजिटल माध्यमबाट श्रव्य-दृश्य सामग्री उपलब्ध गराउने योजना अघि सारेको छ।

सरकारले श्रमिकहरूको न्यूनतम ज्याला पूर्ण रूपमा कार्यान्वयन गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबैलाई आबद्ध गर्ने र थप पाँचवटा देशसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने रणनीति तय गरेको छ। मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको 'शासकीय सुधार सम्बन्धी १०० कार्यसूची' लाई आधार मानेर मन्त्री साहले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न र सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

यसका साथै आन्तरिक रोजगारी सिर्जनाका लागि सबै प्रदेशमा निजी क्षेत्रसँगको सहकार्यमा 'सीप मेला' सञ्चालन गर्ने र वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा तथा न्यूनतम मापदण्ड तयार गर्ने विषयमा समेत मन्त्रालयले गृहकार्य सुरु गरेको छ। 'श्रमाधान' योजनालाई थप प्रभावकारी बनाउँदै कल सेन्टरमार्फत श्रमिकका गुनासा तत्काल सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ