काठमाडौँ । एमाले नेतृ तथा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले गएराति काठमाडौँको धुम्बराहीस्थित आफ्नै निवासबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति करिब ११ बजे उनलाई नियन्त्रणमा लिएको हो।
सांसद शर्माका श्रीमान् चिन्तामणि शर्माले प्रहरी टोली आएर रेखालाई घरबाटै लिएर गएको पुष्टि गरेका छन्। उनीमाथि एक बालिकालाई आफ्नो घरमा राखेर घरेलु कामदारका रूपमा बालश्रम गराएको गम्भीर आरोप लागेको छ।
बालबालिका सम्बन्धी ऐन र श्रम कानूनको उल्लंघन गरेको उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ। जनप्रतिनिधि नै बालश्रम जस्तो संवेदनशील मुद्दामा पक्राउ परेपछि यस घटनाले राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ।