पार्टीले सिट कम ल्याए पनि राजनीतिक एजेन्डाले जितेको प्रचण्डको दाबी
सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
3.1k
Shares
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा भएको आन्दोलन र बलिदानीकै कारण महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भएको दाबी गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले हालै सम्पन्न निर्वाचनमा पार्टीले कम सिट ल्याए पनि आफ्नो राजनीतिक एजेन्डाले जित हासिल गरेको जिकिर गरे।
उनले जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै त्यसको मुख्य श्रेय आफ्नो नेतृत्वको आन्दोलनलाई जाने बताए।
साथै, जुनसुकै पार्टीबाट महिलाहरू निर्वाचित भए पनि त्यसलाई आन्दोलनकै उपलब्धिका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
दाहालले वालेन्द्र साह बालेन नेतृत्वको सरकारलाई रचनात्मक र सिर्जनात्मक ढंगले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे “जहाँ राम्रो काम हुन्छ, त्यहाँ हाम्रो साथ रहन्छ, कमी देखिएमा आलोचना पनि हुन्छ,” उनले भने।
पूर्वप्रधानमन्त्रीहरूमध्ये आफू मात्रै प्रतिनिधिसभामा उपस्थित रहेको उल्लेख गर्दै दाहालले यसलाई चुनौती र अवसर दुवै रूपमा लिएको बताए। साथै, मुलुकमा सुशासन कायम गर्न र वर्तमान व्यवस्थाको रक्षा गर्न संसदमा सक्रिय भूमिका खेल्ने उनको भनाइ छ।