काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रौतहटले सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई सहयोग गर्ने बहानामा अवैध रूपमा रकम असुल गर्ने बिचौलीहरूलाई प्रवेश निषेध गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले एक सूचना जारी गर्दै जिल्लास्थित सरकारी कार्यालयहरूको वरिपरि र भित्र प्रवेश गरी 'सहयोग र सहजीकरण' गर्ने नाममा गैरकानूनी रूपमा रकम असुल भइरहेको पाइएकाले यस्तो कदम चालिएको बताए।
प्रशासनले जारी गरेको सूचनामा सरकारी कार्यालयको हाताभित्र वा वरिपरि सेवाग्राहीलाई ठग्ने उद्देश्यले सक्रिय रहने व्यक्तिहरूलाई पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ।
यदि कोही व्यक्ति यस्ता गतिविधिमा संलग्न रहेको फेला परेमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
सेवाग्राहीलाई बिचौलीको ठगीबाट बचाउन र सरकारी सेवा प्रवाहलाई थप पारदर्शी एवं व्यवस्थित बनाउन यो निर्णय लिइएको प्रशासनले स्पष्ट पारेको छ।