arrow

राजमार्गबाट हटाइयो अव्यवस्थित पार्किङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २३ सोमबार
no-parking-hetauda.jpg

मकवानपुर । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गमा अव्यवस्थित रूपमा पार्किङ गरी राखिएका सवारी साधनहरू हटाइएको छ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा नगर प्रहरीको संयुक्त टोलीले विशेष अभियान सञ्चालन गर्दै हेटौँडा उपमहानगरपालिकाका वडा नं १, २, ४, १० र ११ अन्तर्गत पर्ने राजमार्ग क्षेत्रमा अनावश्यक रूपमा पार्किङ गरिएका सवारी साधनहरू हटाएको हो।

प्रहरीका अनुसार राजमार्ग क्षेत्रमा जथाभावी पार्किङका कारण सवारी आवागमनमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम बढ्दै गएको गुनासो बढेपछि यस्तो अभियान सञ्चालन गरिएको हो।

अभियानका क्रममा राजमार्ग आसपासमा लामो समयदेखि पार्किङ गरी राखिएका सवारी साधनहरू हटाइएको जनाइएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले म‌ंगलबारदेखि राजमार्गको दायाँबायाँ सवारी साधन पार्किङ नगर्न आम सर्वसाधारण तथा सवारी चालकहरूलाई अनुरोध गरेको छ।

उक्त निर्देशनको अवज्ञा गरी राजमार्ग क्षेत्रमा पार्किङ गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले राजमार्गलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको बताउँदै सबैलाई नियमको पालना गर्न आग्रह गरेका छन्।

उनले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच सहकार्यलाई थप सुदृढ गरिने पनि जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ