arrow

अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्री वाग्लेसँग नाइमाको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
naima-aswarnim.jpg

काठमाडौँ । नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटोमोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ ।

नाइमाकी अध्यक्ष रीतुसिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालय पुगेर भेटघाट गर्दै बधाईसमेत दिएका छन् ।

नाइमाले स्थिर, पूर्वानुमानयोग्य तथा सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रलाई विलासिता होइन, आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ ।

साथै, कर संरचनालाई सहज र सन्तुलित बनाउने तथा ८०/२० अनुपातमार्फत वित्तीय पहुँच सहज बनाउने आवश्यकता पनि औँल्याइएको छ ।

आर्थिक ऐनअनुसार भन्सार क्लियरन्स भइसकेपछि पनि अडिट तहमा फरक व्याख्याका आधारमा बेरुजु उठ्ने प्रवृत्तिले व्यावसायिक वातावरणमा अन्योल र अनिश्चितता सिर्जना गरेको उल्लेख गरिएको छ ।

विद्युतीय तथा हाइब्रिड सवारी साधनको स्पष्ट वर्गीकरण तथा सबै प्रविधिमा समान कर व्यवहार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

नाइमाले भन्सार प्रक्रिया सहजीकरण, परीक्षण सुविधा, यातायात ऐनको पुनरावलोकन, डिजिटल एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणका विषयमा सुझाव दिएको छ ।

मन्त्री वाग्ले प्रस्तुत सुझावलाई अत्यन्त सान्दर्भिक रहेको बताउँदै, देशका आयातकर्ता तथा उत्पादनको तर्फबाट एकीकृत रूपमा यस्ता सुझाव प्रस्तुत गरेकोमा एसोसिएसनलाई धन्यवाद व्यक्त गरेका छन् ।

वाग्लेले नेपालको अटो मोबाइल क्षेत्रका आयातकर्ता तथा उत्पादकले देशको अर्थतन्त्रमा पुर्याउँदै आएको महत्त्वपूर्ण वित्तीय योगदान, रोजगारी सिर्जना तथा गतिशीलतामा खेलेको भूमिकाको सराहना गरे ।

उनले यस क्षेत्रबाट उठ्ने कर राजस्वको निश्चित अंश पुनः यही क्षेत्रको विकासमा लगानी गर्ने नीतिगत व्यवस्था गर्न सरकार सकारात्मक रहेको विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ