arrow

पन्ध्र वर्षदेखि अँध्यारो खोरमा पशुवत जीवन बिताउन बाध्य ‘विशाल’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
bishal-rautahot.jpg

रौतहट। एउटा १८ वर्षको युवा, जसको काँधमा परिवारको सहारा बन्ने सपना हुनुपर्ने हो। तर रौतहटको चन्द्रपुर नगरपालिका-३, गैडाटारका विशाल तितुङका लागि संसार बाख्राको सानो खोर र खुट्टामा बेरिएको फलामको साङ्लोमै सीमित भएको छ। विगत १५ वर्षदेखि उनी त्यही अँध्यारो खोरमा पशुवत जीवन बिताउन बाध्य छन्।

०६६ सालमा सामान्य अवस्थामा जन्मिएका बिशालको जीवन २०६८ सालपछि अचानक बदलियो। एक्कासि बिरामी परेपछि परिवारले उनलाई काठमाडौँका विभिन्न अस्पतालसम्म पुर्‍यायो। तर चिकित्सकहरूले दिएको निष्कर्ष झन् पीडादायी थियो-उनको मस्तिष्कको एक भागले काम नगर्ने र यो अवस्था निको नहुने।

त्यसपछि सुरु भयो बिशालको कहालीलाग्दो जीवन। बोल्न नसक्ने, जे भेट्यो त्यही च्यात्ने, फाल्ने वा खान खोज्ने व्यवहारका कारण परिवार बाध्य भएर उनलाई नियन्त्रणमा राख्न खुट्टामा साङ्लो बाँधेर बाख्राको खोरमा राख्नुपर्‍यो।

बाबु बाबुलाल तितुङ भावुक हुँदै भन्छन्, “मुटुमा ढुङ्गा राखेर छोरालाई जनावरझैँ बाँधेका छौँ। नबाँधे हराउँछ, फर्केर आउँदैन। भेटेका सामान नष्ट गर्छ। हाम्रो गरिबीले यही उपाय रोज्न बाध्य बनायो।”

विशालको दैनिक जीवन अत्यन्त कष्टकर छ। खानपानदेखि दिसा–पिसाबसम्म सबै काम त्यही खोरभित्रै सीमित छन्।

उनको नाममा आउने मासिक दुई हजार रुपैयाँ अपाङ्ग भत्ताले आधारभूत आवश्यकतासमेत धान्न सकेको छैन।

परिवारको ठूलो चाहना छ-विशाललाई कुनै पुनर्स्थापना केन्द्रमा राखेर मानवीय जीवन दिलाउने। तर बाबुलालका अनुसार सरकारी प्रक्रियाले नै त्यसमा बाधा पुर्‍याइरहेको छ। वडा कार्यालयले बुवाआमा जीवित रहेसम्म सिफारिस दिन नमिल्ने भन्दै असहयोग गरेको उनको गुनासो छ।

गैडाटारको यो एउटा खोरले समाज र राज्यको संवेदनशीलता माथि गम्भीर प्रश्न उठाएको छ। के अपाङ्गता भएका नागरिकले अभिभावक जीवित भएकै कारण यति अमानवीय जीवन बिताउनुपर्छ? के न्यून भत्ता र परिचयपत्रले मात्रै राज्यको दायित्व पूरा हुन्छ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ