arrow

एलडीसी स्तरोन्नतिपछि तयारी पोशाक उद्योगमा चुनौती: अध्यक्ष पाण्डे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
birendra-panday-24-12.jpg

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अल्पविकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि नेपालको तयारी पोशाक उद्योगले गम्भीर चुनौती सामना गर्नुपर्ने बताएका छन्।

नेपाल तयारी पोशाक उद्योग संघद्वारा आयोजित अन्तरक्रियामा अध्यक्ष पाण्डेले नेपालको औद्योगिक अवस्था कमजोर रहेको र स्तरोन्नतिपछिको तयारी पर्याप्त नभएकोप्रति चिन्ता व्यक्त गरे।

उनका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उत्पादनमूलक क्षेत्रको योगदान पाँच प्रतिशतभन्दा कम छ भने उत्पादन क्षेत्रमा रोजगारीको हिस्सा करिब सात प्रतिशतमात्रै रहेको छ। यसले औपचारिक रोजगारी सिर्जना निकै कमजोर रहेको संकेत गर्ने उनले बताए।

लागत प्रतिष्पर्धात्मकतामा पनि नेपाल पछाडि रहेको उल्लेख गर्दै पाण्डेले नेपालमा लजिस्टिक लागत वस्तुको मूल्यको २८ देखि ३० प्रतिशतसम्म पुग्ने गरेको बताए। तुलना गर्दा भारत मा यो १४-१६ प्रतिशत र भियतनाम मा १०-१२ प्रतिशत मात्रै रहेको छ।

एलडीसी स्तरोन्नतिका लागि नेपाल कत्तिको तयार छ भन्ने प्रश्न उठाउँदै उनले बंगलादेशको उदाहरण दिए।

बंगलादेशले आफ्नो तयारी अपुग रहेको भन्दै स्तरोन्नति तीन वर्षपछि सार्न पहल गरिसकेको उल्लेख गर्दै उनले नेपालले पनि यथार्थपरक तयारी गर्नुपर्ने बताए।

अध्यक्ष पाण्डेले भारत र युरोपेली युनियन (ईयू) बीच हुन लागेको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) ले नेपाललाई ठूलो असर पार्ने चेतावनी दिए।

नेपालको ईयूमा हुने कुल निर्यातको करिब ७५ प्रतिशत हिस्सा टेक्सटायल क्षेत्रको रहेको र भारतले शून्य भन्सार सुविधा पाएमा नेपाली उत्पादन प्रतिस्पर्धामा कमजोर हुने उनको भनाइ छ।

यस्तै, भारत र संयुक्त राज्य अमेरिका बीचको व्यापारिक सम्बन्धमा हुने परिवर्तनले पनि नेपालको निर्यातमा असर पार्न सक्ने उनले औँल्याए।

नेपालले ‘स्मूथ ट्रान्जिसन स्ट्राटेजी’ (एसटीएस) बनाए पनि उत्पादकत्व वृद्धि, लागत न्यूनीकरण र व्यावसायिक वातावरण सुधारमा खासै प्रगति नभएको उनले बताए।

“नेपालमा उद्योगले आर्थिक वृद्धिको इन्जिनको रूपमा काम गर्न सकेको छैन, बरु समयअगावै विऔद्योगिकीकरणको अवस्था देखिँदैछ,” उनले भने।

उनले थपे, “यदि बंगलादेश एलडीसीमै रहने र नेपाल मात्र स्तरोन्नति हुने हो भने अन्तर्राष्ट्रिय बजारमा हाम्रो तुलनात्मक लाभ गुम्नेछ। हामीले ईयूसँग गम्भीर वार्ता गर्नुपर्छ, विभिन्न देशसँग द्विपक्षीय र सहुलियतपूर्ण व्यापार सम्झौता गर्नुपर्छ, तर त्यसको तयारी पर्याप्त देखिएको छैन।”

अध्यक्ष पाण्डेले एलडीसी स्तरोन्नतिलाई केवल औपचारिक उपलब्धिको रूपमा होइन, आर्थिक संरचना रूपान्तरणको अवसर का रूपमा लिनुपर्नेमा जोड दिए।

उनले राष्ट्रिय संकल्पका साथ अघि बढ्दै कुनै पनि औद्योगिक क्षेत्रलाई प्रताडित हुन नदिने वातावरण सिर्जना गर्न सरकार र सरोकारवालालाई आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ