arrow

चाँदीनदी पुल निर्माण नौ वर्षदेखि अधुरै, गैंडाटारवासी अझै जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
chadi-nadi-pool.jpg

काठमाडौँ । रौतहटको गैंडाटारका स्थानीयले चाँदी नदीमाथि निर्माणाधीन पुल समयमै सम्पन्न नहुँदा वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।

चन्द्रनिगाहपुरसँग जोड्ने महत्वपूर्ण संरचना मानिएको उक्त पुल निर्माण शुरू भएको नौ वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ, जसले स्थानीय जनजीवनमा प्रत्यक्ष असर पारेको छ।

२०७३ साल पुसमा पप्पु-शिव शंकर जेभीले करिब २५ करोड ३६ लाख रुपैयाँ लागतमा ४६९ मिटर लामो पुल निर्माणको ठेक्का लिएको थियो।

सम्झौताअनुसार २०७६ असारसम्म निर्माण सम्पन्न हुनुपर्ने भए पनि २०८२ साल नजिकिँदा समेत पुल पूर्णरूपमा तयार हुन सकेको छैन। ११ स्पान रहेको पुलको निर्माण कार्य बीचमै रोकिएको छ।

स्थानीयका अनुसार निर्माण कम्पनीले पटक-पटक म्याद थप गराउँदै आएको छ। तर कार्यस्थलमा आवश्यक उपकरण र कामदारको अभाव देखिने गरेको छ। जसका कारण पुल निर्माणमा कुनै उल्लेख्य प्रगति हुन सकेको छैन।

पुल अधुरै रहँदा वर्षायाममा नदी पार गर्न स्थानीयलाई जोखिमपूर्ण अवस्था सामना गर्नुपर्ने बाध्यता छ।

बिरामीलाई अस्पताल पुर्याउन कठिनाइ हुने, विद्यार्थी परीक्षा दिन जान नपाउने जस्ता समस्या बारम्बार दोहोरिने गरेका छन्। केही अवस्थामा ज्यानसमेत जोखिममा पर्ने गरेको स्थानीयको गुनासो छ।

यस विषयमा स्थानीय तहदेखि संघीय स्तरसम्मका जनप्रतिनिधिले पटक-पटक अनुगमन गरी निर्माणलाई तीव्रता दिन निर्देशन दिएका भए पनि व्यवहारमा सुधार आउन सकेको छैन।

युवा अगुवा करण देवकोटाले पुल निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै अब थप ढिलाइ स्वीकार्य नहुने बताएका छन्।

उनले पुल निर्माणलाई तत्काल प्राथमिकतामा राखी काम अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

दीर्घकालदेखि अधुरो रहेको यो आयोजना अब कहिले सम्पन्न हुन्छ भन्ने अन्योल कायम छ। स्थानीय भने सुरक्षित आवागमनको प्रतीक्षामा अझै बस्न बाध्य छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ