काठमाडौँ । दिग्गज सदाबहार बलिउड गायिका आशा भोषलेको ९२ वर्षको उमेरमा निधन भएको छ। मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो। ब्रीच क्यान्डी अस्पतालका अनुसार शरीरका विभिन्न अङ्गहरूले काम गर्न छोडेपछि (मल्टिपल अर्गन फेलर) उनको निधन भएको हो।
आशा भोषलेले आफ्नो करियरमा १४ भन्दा बढी भाषाहरूमा १२ हजार भन्दा बढी गीतहरू गाएकी छन्। उनका "दम मारो दम", "पिया तू अब तो आजा", र "चुरा लिया है तुमने" जस्ता गीतहरू आज पनि उत्तिकै लोकप्रिय र सदाबहार छन्।
मशहूर थिएटर कलाकार तथा शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी एवं लता मंगेशकरकी बहिनी आशाको बाल्यकाल सङ्घर्षपूर्ण रहेको थियो।
उनी मात्र ९ वर्षको हुँदा बुबाको निधन भएको थियो। त्यसपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न उनले दिदी लता मंगेशकरसँगै गायन यात्रा सुरु गरेकी थिइन्।
आफ्नो विशिष्ट गायन शैली र बहुमुखी प्रतिभाका कारण उनले विश्वभरका सङ्गीत प्रेमीहरूको मन जित्न सफल भइन्। उनको निधनले सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।