वैशाखका लागि १२ बैंक स्थिर रहँदा सात बैंकले घटाए ब्याजदर
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
870
Shares
काठमाडौँ । वाणिज्य बैंकहरूले आगामी वैशाख महिनाका लागि ब्याजदर घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ तालिका अनुसार २०८३ वैशाखमा मुद्दती निक्षेपको औसत ब्याजदरमा गिरावट आएको छ।
वैशाखमा मुद्दती निक्षेपतर्फ व्यक्तिगततर्फको औसत ब्याजदर ४.४१ प्रतिशत कायम भएको छ, जुन चैतमा ४.४९ प्रतिशत थियो। त्यस्तै, संस्थागततर्फको औसत ब्याजदर पनि चैतको ३.२९ प्रतिशतबाट घटेर ३.२३ प्रतिशतमा झरेको छ।
वैशाखका लागि ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने १२ वटा बैंकले चैतको दरलाई नै स्थिर राखेका छन्। ब्याजदर घटाउने बैंकहरूमध्ये सिद्धार्थ बैंकको सबैभन्दा कम ४ प्रतिशत रहेको छ भने एनआईसी एशिया बैंकले ४.७५ प्रतिशत ब्याज दिनेछ। ब्याजदर घटाउने अन्य बैंकहरूमा एभरेष्ट (४.०५%), कुमारी (४.०५%), सिटिजन्स (४.१२%), स्ट्याण्डर्ड चार्टर्ड (४.१०%) र हिमालयन बैंक (४.५०%) रहेका छन्।
धेरैजसो बैंकले ब्याजदर घटाउँदा वा स्थिर राख्दा कृषि विकास बैंकले भने वैशाखका लागि ब्याजदर बढाएको छ। उक्त बैंकले वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपमा ४.१५ प्रतिशत ब्याज दिने जानकारी दिएको छ।
नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल, सानिमा, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतका १२ बैंकले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन्। जसमध्ये एनएमबि र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी ५ प्रतिशत ब्याजदर कायम गरेका छन्। अन्य बैंकहरू जस्तै प्रभु बैंकले ४.५५ प्रतिशत, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत ब्याज दिनेछन्।
निक्षेपको तुलनामा कर्जाको माग कम हुनु र बैंकहरूमा पर्याप्त तरलता रहेका कारण ब्याजदरमा निरन्तर गिरावट आएको विश्लेषण गरिएको छ।