रामेछाप । रामेछापको सदरमुकामस्थित तामाकोशी नदीमा अब जेटबोटसँगै अब र्याफ्टिङ पनि सञ्चालन हुने भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्राको मनोरञ्जन दिन तामाकोशी मरिण एड्भाञ्चार प्रालिले सो परीक्षणका रूपमा सो सेवा शुरू गरेको हो ।
एक वर्ष अघि परीक्षणको रूपमा तामाकोसी जेटबोट सञ्चालन गरेको प्रालिले नयाँ वर्ष २०८३ बाट र्याफ्टिङ पनि परीक्षणको रूपमा शुरू गरेको कम्पनीका सञ्चालक सागरहरि अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार अहिले जेटबोट मन्थलीको करमबाटदेखि मन्थली घाटको पुलसम्म सञ्चालन भइरहेको छ ।
यसलाई विस्तार गरी करमबोटदेखि खुर्कोटसम्म जेटबोट सञ्चालन गर्ने योजना कम्पनीले बनाएको छ । त्यसका लागि नदीका केही जोखिमपूर्ण ठाउँलाई मिलाउनु पर्ने उनले बताए । यस विषयमा स्थानी तह र पानीजहाज कार्यालयसँग पनि समन्वय र सहकार्य भइरहेको उनले जनाकारी दिए ।
जेटबोटको लागि हाल छोटो, मध्यम र लामो दुरी गरी तीन ओटा प्याकेज बनाइएको छ । तीन ओटा प्याकेजेको लागि फरक फरक भाडा निर्धारण गरिएको उनले बताए ।
जसमा ३५०, ५०० र एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको उनले बताए ।
यसैगरी र्याफ्टिङका लागि लङरुट र सर्टरुट निर्धारण गरिएको छ । लामो दूरीको यात्रा आधा दिनको हुने छ ।
सो यात्रा देवीटारदेखि शुरू हुनेछ भने दुई हजार ५०० रुपैँया शुल्क लाग्ने छ । छोटो यात्रा हलेदेखि मन्थलीसम्मको हुने छ । जसको शुल्क एक हजार ५०० लाग्नेछ ।
मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सो कम्पनीले अहिले परीक्षणको रूपमा जेटबोट र र्याफ्टिङ सञ्चालनमा ल्याएको बताउँदै सो परीक्षण सफल भएमा त्यसलाई थप व्यवस्थित बनाएर सञ्चालनको व्यवस्था मिलाउने जानकारी दिए ।