नेप्से परिसूचकमा ३३ अङ्कको गिरावट, नौ अर्ब ३१ करोडको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
663
Shares
काठमाडौँ । नयाँ वर्षको सुरुवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट देखिएको छ। आज साताको कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक ३३.८३ अङ्कले घटेर दुई हजार ८३३.०३ अङ्कमा कायम भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १.१८ प्रतिशतको गिरावट हो।
बजारमा तीव्र उतारचढाव देखिए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ। नेप्सेका अनुसार आज ३४२ कम्पनीका दुई करोड सात लाख ४३ हजार ८८४ कित्ता शेयर एक लाख ११ हजार ६०७ पटक खरिद–बिक्री हुँदा कुल रु नौ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा बजारका सबै १३ वटै उपसूचकहरू राताम्मे देखिएका छन्। सबैभन्दा बढी गिरावट वित्त (फाइनान्स) र अन्य समूहमा देखिएको छ। विवरणअनुसार वित्त समूह १.९८ प्रतिशत, अन्य समूह १.९० प्रतिशत, उत्पादन तथा प्रशोधन १.५४ प्रतिशत र जलविद्युत् समूह १.५१ प्रतिशतले घटेका छन्। यस्तै, बैंकिङ समूहमा ०.८० प्रतिशत, विकास बैंकमा १.१५ प्रतिशत र लघुवित्त समूहमा ०.७१ प्रतिशतको गिरावट आएको छ।
बजार घटे पनि दुईवटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। रिजलाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्। अर्कोतर्फ, सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्, जसको शेयर मूल्य ९.४७ प्रतिशतले घटेको छ।
नयाँ शैक्षिक सत्र र राजनीतिक सरगर्मी बढिरहेका बेला शेयर बजारमा देखिएको यो करेक्सनलाई लगानीकर्ताहरूले "पर्ख र हेर" को रणनीतिका रूपमा लिएका छन्।