arrow

विद्यार्थी आन्दोलनमा सुधार र अस्तित्व रक्षाको बहस, सरकारको कदमप्रति नेताहरूको प्रतिवाद

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
sutend-leader.jpg

काठमाडौँ । नेपाली विद्यार्थी आन्दोलन हाल गम्भीर आत्मसमीक्षा, संरचनात्मक सुधार र अस्तित्व रक्षाको चुनौतीपूर्ण मोडमा उभिएको छ। विश्वविद्यालयहरूबाट विद्यार्थी संगठन र कार्यालयहरू हटाउने सरकारको तयारीप्रति विभिन्न राजनीतिक दलका विद्यार्थी नेताहरूले आपत्ति जनाउँदै यसलाई वैचारिक 'नर्सरी' माथिको प्रहार र प्रशासनिक बलमा सिध्याउने खेलको संज्ञा दिएका छन्।

नेपाली कांग्रेसका नेता नैनसिंह महरले परिवर्तनशील समाज र प्रविधिको युगमा पुरानै राजनीतिक ढर्राले काम नगर्ने बताए। संयुक्त विद्यार्थी संगठनको कार्यक्रममा बोल्दै उनले पाठ्यक्रम र काम गर्ने शैलीमा समयसापेक्ष सुधारको खाँचो औँल्याए। महरले ३५ वर्षको शासन व्यवस्थाको लेखाजोखा गर्दै युवा पुस्ताको मनोविज्ञान बुझ्न नसक्दा राजनीतिले अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गरे। उनले विश्वविद्यालयबाट संगठन विस्थापित गर्ने प्रयासलाई संविधान र नियमावलीले ग्यारेन्टी गरेको अधिकारको हनन भएको दाबी गर्दै विद्यार्थी राजनीतिको चरित्रमा सुधार आवश्यक रहेको तर यसको उन्मूलन सम्भव नभएको बताए।

नेकपाका युवा नेता सुदेश पराजुलीले विद्यार्थी आन्दोलन कसैको व्यक्तिगत इच्छाले खारेज नहुने तर्क गरे। उनले वर्तमान नेतृत्वलाई आफ्ना माउ पार्टीका शीर्ष नेताहरूको छायाँ मात्र नबनी विद्यार्थी आन्दोलनको वास्तविक चरित्र बोक्न आग्रह गरे। पराजुलीले वैकल्पिक शक्तिका नाममा आएकाहरूलाई सडकमा लोकतान्त्रिक प्रतिस्पर्धा गर्न चुनौती दिँदै विद्यार्थी नेताहरूलाई आन्तरिक विवाद छोडेर सडक संघर्षमा उत्रिन निर्देशन दिए। उनले सत्ताको घमण्ड र बेथिति विरुद्ध एक्लै भए पनि आवाज उठाउन सक्ने आँट विद्यार्थीमा हुनुपर्नेमा जोड दिए।

यस्तै, नेकपा एमालेका युवा नेता समिक बडालले विद्यार्थी आन्दोलनलाई विचार उत्पादनको मुख्य केन्द्रका रूपमा व्याख्या गरे। कलेजहरू सचेत विद्यार्थी पढ्ने ठाउँ भएको र त्यहाँ 'फासीवादी सत्ताका रोबोट' उत्पादन नहुने उनको भनाइ छ। बडालले विद्यार्थी संगठनहरू ओझेलमा पर्न सक्ने तर कहिल्यै समाप्त नहुने विश्वास व्यक्त गर्दै कलेजहरूमा प्रहरी परिचालन गर्ने षड्यन्त्रको प्रतिवाद गर्नुपर्ने बताए। प्रशासनिक र कानुनी रूपमा विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन खोजिएको भन्दै उनले उच्च मनोबलका साथ आन्दोलनको गरिमा फर्काउन लाग्नुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ