पेट्रोलियम पदार्थको मूल्य वृद्धि र विश्वविद्यालयमा हस्तक्षेप विरुद्ध विद्यार्थी संगठनको राँके जुलुस [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
911
Shares
काठमाडौँ । काठमाडौंको प्रदर्शनी मार्गमा संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि र शिक्षा क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेपको विरोधमा राँके जुलुससहित प्रदर्शन गरेको छ। विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरूले सरकारले जनताको ढाड सेक्ने गरी इन्धनको मूल्य बढाएको भन्दै तत्काल घटाउन माग गरेका छन्।
प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत मागेका छन्। सरकारले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप बढाएको र विद्यार्थी संगठनहरूलाई नै प्रतिबन्ध लगाउने वा खारेज गर्ने तयारी गरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे।
प्रदर्शनकारीहरूले 'पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर', 'विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर', र 'विद्यार्थी संगठन खारेज गर्न पाइँदैन' जस्ता चर्का नारा लगाउँदै प्लेकार्डहरू प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले सरकारले आफ्नो निर्णय नसच्याए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी समेत दिएका छन्।