रेमिट्यान्स मात्र होइन १० लाख प्रवास सदस्य र प्रोफाइल बैंक बनाउने रास्वपाको लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
628
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपालीहरूलाई केवल रेमिट्यान्स पठाउने स्रोतका रूपमा मात्र नहेरी राष्ट्र निर्माणको सहनिर्माता बनाउने उद्देश्यका साथ नयाँ कार्यक्रमहरू सार्वजनिक गरेको छ। रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले जारी गरेको विज्ञप्ति अनुसार, विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप र नेटवर्कलाई नेपालको विकाससँग प्रत्यक्ष जोड्ने लक्ष्यसहित विभिन्न अभियान सञ्चालन गरिनेछ।
यस अभियान अन्तर्गत विभागले प्रवासबाट कम्तीमा १० लाख सदस्य बनाउने महत्वाकांक्षी लक्ष्य राख्दै 'प्रवास सदस्यता विस्तार अभियान' सुरु गर्ने जनाएको छ। यसका साथै, विदेशमा रहेका नेपालीहरूको ज्ञान र विशेषज्ञतालाई संस्थागत गर्न 'प्रोफाइल बैंक' स्थापना गर्ने योजना अघि सारिएको छ। यो बैंकमार्फत नेपालमा लगानीका सम्भावना पहिचान गर्ने, स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्ने र स्वदेश फर्कन चाहने लगानीकर्ताहरूलाई आवश्यक मार्गदर्शन प्रदान गरिनेछ।
प्रोफाइल बैंकको स्थापनापछि 'आइडिया बैंक' को अवधारणालाई पनि कार्यान्वयनमा ल्याउने विभागको तयारी छ। विदेशमा सिकेका सीप र नवीन सोचहरूलाई परियोजनामा ढाली रोजगारी सिर्जना गर्ने र नेपालको आर्थिक समृद्धिको आधार तयार पार्ने रणनीति रास्वपाले अख्तियार गरेको देखिन्छ। यस कदमले प्रवासमा रहेका नेपालीहरूको पहिचान र भूमिकालाई राजनीतिक र आर्थिक रूपमा अझ बलियो बनाउने अपेक्षा गरिएको छ।