काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आर्थिक विधेयक, २०८३ ले मध्यम वर्गको विस्तार, कर प्रणाली सुधार तथा स्वदेशी उद्योग प्रवर्द्धनका महत्वपूर्ण विषयलाई सम्बोधन गरेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभामा आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सरकारले सीमित समय र स्रोतका बाबजुद जनपक्षीय तथा देश निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याउने प्रयास गरेको दाबी गरे।
उनले रास्वपाले सरकारको नेतृत्व सम्हालेको केही समयमै बजेट निर्माणको जिम्मेवारी आएको स्मरण गराउँदै बजेटले सबै अपेक्षा पूरा नगरे पनि सकारात्मक एजेन्डालाई समेट्ने प्रयास भएको बताए।
‘यो बजेटले सबै कुरा शतप्रतिशत समेटेको छ भन्नेमा हामी आफैँ विश्वस्त छैनौँ। तर जनपक्षीय सोच, देश निर्माणको लक्ष्य र विभिन्न राजनीतिक दलले उठाएका सकारात्मक मुद्दालाई सम्बोधन गर्ने सशक्त प्रयास भएको छ,’ उनले भने।
पराजुलीले मध्यम वर्गको विस्तारलाई आर्थिक समृद्धिको आधार मान्दै कर प्रणालीमा गरिएको सुधारको बचाउ गरे।
करको दायरा विस्तार गर्दै आयकरको सीमा छ लाखबाट १० लाख रुपैयाँ पुर्याइएको र उच्च करदरको मनोवैज्ञानिक दबाब कम गर्ने प्रयास गरिएको उनको भनाइ थियो।
‘मध्यम वर्गलाई विस्तार गर्नुपर्छ भन्ने विषय हाम्रोमात्र होइन, प्रतिपक्षले पनि उठाउँदै आएको मुद्दा हो। यस्ता सुधारलाई रचनात्मक रूपमा स्वागत गर्न सकिन्थ्यो, तर प्रतिपक्षले विरोधमै बढी ध्यान दिएको देखियो। यद्यपि, यसलाई हामी प्रतिपक्षको भूमिकाकै रूपमा बुझ्छौँ,’ उनले भने।
सांसद पराजुलीले आर्थिक विधेयकले औद्योगिकीकरण र स्वदेशी कच्चा पदार्थको उपयोगलाई प्रोत्साहन गर्ने आधार तयार पारे पनि केही महत्वपूर्ण क्षेत्र अझै पर्याप्त रूपमा सम्बोधन हुन नसकेको टिप्पणी गरे।
प्लाइउड उद्योगको उदाहरण दिँदै उनले नेपालमै उपलब्ध कच्चा पदार्थ प्रशोधन गरेर मूल्य अभिवृद्धियुक्त वस्तु निर्यात गर्नुपर्नेमा जोड दिए। कच्चा पदार्थको बढ्दो निर्यातका कारण प्लाइउड निर्यात खुम्चिएको उनको तर्क थियो।
‘प्लाइउड नेपालको महत्वपूर्ण निर्यातजन्य उत्पादन हो। एक वर्षअघि करिब आठ अर्ब रुपैयाँको निर्यात भएको थियो भने कच्चा पदार्थ बाहिर जान थालेपछि यो चार अर्ब रुपैयाँमा सीमित भएको छ। भन्सार दर प्रतिकेजी छ रुपैयाँबाट १२ रुपैयाँसम्म पुर्याउन सकिए कच्चा पदार्थ स्वदेशमै उपयोग गरी तयारी वस्तु निर्यात गर्न सकिन्छ र अहिलेको चार अर्ब रुपैयाँको बजारलाई १२ अर्ब रुपैयाँसम्म विस्तार गर्ने सम्भावना छ,’ उनले भने।
पराजुलीको भनाइले सरकारको बजेटप्रति रास्वपाको बचाउसँगै कर सुधार, मध्यम वर्गको विस्तार र कच्चा पदार्थको सट्टा मूल्य अभिवृद्धियुक्त उत्पादन निर्यातमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने रणनीतिमा जोड दिएको ।