भानु साहित्य उद्यानको शिलान्यास गरे राष्ट्रपति पौडेलले
चुँदीरम्घालाई 'सप्तधाम'का रूपमा विकास गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
237
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको भानु नगरपालिका-४, चुँदीरम्घामा भानु साहित्य उद्यानको आज शिलान्यास गरेका छन्। गत पुसमा विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएको यस उद्यानलाई सप्तधामका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
गुरुयोजनाअनुसार उद्यानको पूर्ण निर्माणका लागि करिब एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा चालु आर्थिक वर्षका लागि सङ्घीय सहरी विकास मन्त्रालयले २० करोड रुपैयाँ विनियोजन गरिसकेको छ।
नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार यो बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको सडक कालोपत्रे गरिनेछ भने ५४ फिट उचाइको भानुभक्तको विशाल प्रतिमा निर्माण गरिनेछ। हालसम्म गुरुयोजना कार्यान्वयनका लागि करिब ४०० रोपनी जग्गा प्राप्त भइसकेको छ।
भाषाको माध्यमबाट नेपाललाई जोड्ने आदिकविको जन्मथलोलाई साहित्यिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने उद्देश्यले उद्यानभित्र विभिन्न संरचनाहरू प्रस्ताव गरिएको छ।
यस उद्यानमा भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमुना बस्ती, भानु साहित्य ग्राम र प्रज्ञा भवन जस्ता संरचनाहरू रहनेछन्। साथै, त्यहाँ भानु वनस्पति उद्यान, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र र साहित्यिक पदमार्ग समेत निर्माण गरिनेछ।
भानु साहित्य उद्यान निर्माणका लागि विगत दुई आर्थिक वर्षमा करिब एक करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ।